
दीननाथ बराल,
पोखरा, १ असोज,
जेन–जी (जेनेरेसन जेड) आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा भएको तोडफोड र सवारीसाधनमा गरिएको आगजनीप्रति रिसोर्टका संचालक तथा प्रबन्ध निर्देशक जितु गुरुङले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ । गुरुङले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दैआन्दोलनको नाममा आपराधिक प्रवृत्तिका समूहहरूले रिसोर्टमा तोडफोड, आगजनी र लुटपाट गरी करोडौं रुपैयाँ बराबरको क्षति पुर्याएको उल्लेख गर्नुभएको छ।

उहाँले भन्नुभयो, “यो आक्रमण वास्तविक जेनजी आन्दोलनकारीको नभई आपराधिक गिरोहकै हो। त्यसैले निष्पक्ष छानबिन गरी दोषीलाई फौजदारी कानुनअनुसार कठोर कारबाही गर्नुपर्छ।”गुरुङका अनुसार घटनाका क्रममा रिसोर्टमा रहेका तीनवटा पर्यटक बस तथा तीनवटा गेस्ट कारमा आगजनी गरिनुका साथै रिसोर्टको बार, स्पा, लबी, गेस्ट रुम लगायतका संरचनामा तोडफोड र चोरी भएको छ। बारमा राखिएको आयातित मदिरा लुटपाट गरिनुका साथै नगद रकम समेत चोरी भएको र गेस्टहरू ज्यान जोगाउन भागाभाग गर्नुपरेको उहाँले पोखराक्लिकलाई स्मरण गराउनु भयो ।
रिसोर्टमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगानी रहेको भन्दै केही आन्दोलनकारीले रिसोर्ट जलाउनुपर्ने अफवाह फैलाएको भन्दै गुरुङले यस्तो प्रचारलाई “पूर्णरूपमा कपोलकल्पित, निराधार र नियोजित प्रपोगाण्डा” भएको प्रतिक्रिया दिनुभयो। उहाँले स्पष्ट पार्दै भन्नुभयो, “बरपिपल रिसोर्टमा मेरो र मेरो परिवारबाहेक कसैको एक रुपैयाँ पनि लगानी छैन। यदि कसैसँग प्रमाण छ भने खुला चुनौती दिन्छु। म कुनै राजनीतिक दलको नभई शुद्ध पर्यटन व्यवसायी हुँ।”
गुरुङले पर्यटन सिजन सुरु भएसँगै अधिकांश बुकिङहरू रद्द हुन थालेको गुनासो गर्दै करिब १२० जनालाई रोजगारी दिँदै आएको रिसोर्टमा यस्तो क्षति पुर्याउनु व्यवसायिक जगतकै मनोबलमाथि चोट पुगेको बताउनु भयो। उहाँले आफू ३० वर्षअघि लमजुङबाट केवल एक हजार रुपैयाँ लिएर पोखरा झरेको र क्लिनिङ कामदेखि गाइड हुँदै होटल व्यवसायमा संघर्ष गर्दै आएको स्मरण गर्दै, “सपना र पसिनाको बलमा बनाएको यो ‘ड्रिम प्रोजेक्ट’ माथि आगो लगाइयो, तर हाम्रो उत्साह र संकल्पमाथि होइन,” भन्नुभयो । गुरुङले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ। उहाँले अब उद्यमी–व्यवसायीहरू त्रसित हुने अवस्था सिर्जना नगरी भ्रष्टाचारमुक्त, स्थिर र शान्त नेपाल निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
हाल स्थानीय समुदायको सद्भाव, कर्मचारीहरूको दृढता तथा शुभेच्छुकहरूको साथले रिसोर्ट पुनः सञ्चालनमा आएको गुरुङले जानकारी दिनुभयो। “हामी लडेका थियौं, हिम्मत गरेर फेरि उठेका छौं,” उहाँले भावुक हुँदै भन्नुभयो, “उनीहरूले रिसोर्टका भौतिक संरचना ढालेका हुन्, हाम्रा सपना र उत्साह होइन। त्यसैले हाम्रो यात्रा जारी छ, खरानी र धुलो टक्टकाउँदै सतिसालझैं ठडिँदै।” पोखरामा उहाँको सहित ६ वटा होटल तथा रिसोर्टमा तोडफोड, चोरी सहित आगजनी हुदा ३ अर्ब बढीको क्षेति भएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्ण सुवेदीले बताउनु भएको छ । उहाँले पर्यटन क्षेत्रमा जो जसले कुनै बाहनामा गरिएको तोडफोड, चोरी सहित आगजनी निन्दनीय भएको भन्दै दोषी उपर कार्वाहीको माग समेत गर्नु भएको छ ।





