
दीननाथ बराल ,
पोखरा, भदौ ३१,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्ता जेन–जी आन्दोलनका क्रममा पोखराका सरकारी तथा निजी संरचनामा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको मंगलबार प्रत्यक्ष अवलोकन गर्नुभयो । आन्दोलन सुरु हुनेबेला सरकारी कार्यक्रममा सहभागी हुन दुवई हुनु भएको मुख्यमन्त्री पाण्डे सोमबार नेपाल फर्किए लगत्तै मंगलबार बिहानैदेखि क्षतिग्रस्त कार्यालयहरूको निरीक्षणमा निस्किनु भएको थियो ।

मुख्य मन्त्री पाण्डेले गण्डकी प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आफ्नो निजी निवास, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सहित विभिन्न सरकारी निकायमा पुग्नुभयो। भवन, सवारीसाधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेलिभिजन, स्मार्टबोर्ड, कुर्सी, टेबुल, दराज जस्ता आवश्यक सामग्री जलेर खरानी बनेको दृश्यले उहाँलाई निकै मर्माहत बनाएको थियो। सबैलाई पुनःनिर्माणको अभियानमा हातेमालो गर्न उहाँले आह्वान गर्नुभएको छ।
निरीक्षणपछि पाण्डेले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। साथै, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित नेतामाथि भएको आक्रमणको निन्दा गर्दै घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने धारणा समेत राख्नु भएको उहाँका प्रेस संयोजक नरहरी सापकोटाले पोखराक्लिकलाई जनाउनु भयो ।
पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउँदै उहाँले नागरिक सेवामा अवरोध नआओस् भन्न प्रदेश मातहतका कार्यालयहरू सक्रिय बनाइसकिएको जानकारी दिनुभयो। आन्दोलन भड्काएर ध्वंस गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने र युवाहरूका जायज मागप्रति सरकारहरू गम्भीर हुनुपर्ने पनि उहाँको भनाइ थियो। संघीय सरकारको नीति र प्रदेशलाई उपलब्ध हुने बजेटअनुसार पुनर्निर्माण योजना कार्यान्वयन गरिने उहाँले स्पष्ट पार्नुभयो।





