
काठमाडौं, २७ भदौ,
नेपालको इतिहासम्मै पहिलो पटक महिला प्रधानमन्त्री नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ को व्यवस्था कार्यान्वयन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
युवा (जेन–जी) आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीलाई राष्ट्रपति पौडेलले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच नियुक्तिपत्र प्रदान गरेका हुन् । नयाँ संविधान जारी भएपछि अहिलेसम्म बनेका सबै सरकारहरू संविधानको धारा–७६ अनुसार गठन भएका थिए ।
तर, यसपटक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया संविधानको धारा–६१ अनुसार गरिएको छ । नेपालको संविधानको उक्त धारा राष्ट्रपतिसम्बन्धी व्यवस्था हो, जसमा प्रधानमन्त्रीको नियुक्तिको प्रावधान भने स्पष्ट उल्लेख छैन । धारा–६१ मा राष्ट्रपति राष्ट्राध्यक्ष हुने व्यवस्था, संविधानको पालन तथा संरक्षण गर्ने दायित्व, र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भूमिकाको उल्लेख मात्र गरिएको छ ।
राष्ट्रपतिले यही धारालाई आधार बनाउँदै आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको व्याख्या गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यससँगै सुशीला कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् । नवनियुक्त प्रधानमन्त्री कार्कीले आजै शपथ लिने पछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने पहिलो बैठकले नै संसद विघटनको सिफारिस गर्ने तयारी गरेकी छन् ।





