
पोखरा, भदौ २२
सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको केही दिनमै, जेनजी आन्दोलनपश्चात आज बेलुका फेसबुक, यूट्युबसहितका प्रमुख सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आएका छन्।
गत हप्ता संचार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै सूचीकरण नभएका फेसबुक, यूट्युब, ट्विटरजस्ता लोकप्रिय प्लेटफर्मलाई बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि व्यापक असन्तोष सिर्जना भएको थियो।
यसैबीच, सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले देशव्यापी प्रदर्शन गरेका थिए। सरकारी दमनका क्रममा १९ जनाले ज्यान गुमाए भने ३४७ जना घाइते भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा मात्र १७ जनाको मृत्यु भएको छ। काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो। त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र सुनसरीको इटहरीमा गोली लागेर २ जनाको मृत्यु भएको जनाएको छ।
काठमाडौं बाहिरका विभिन्न सहरमा पनि विरोध प्रदर्शन भड्किँदा प्रहरीले बल प्रयोग गरेको थियो। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शनकारीले घेरा तोडेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो।





