
पोखरा,
पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो ।
ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । ललितपुरकी पट्राथिप सान्त्रकुन प्लेयर अफ द म्याच बनिन् । लगातार तेस्रो जितसँगै ललितपुर ९ अंकसहित फाइनल नजिक पुगेको छ । लगातार तेस्रो जित नै निकालेको कर्णाली यशविस पनि फाइनल नजिक पुगेको छ । ३ खेलबाट २ अंक जोडेको लुम्बिनी २ र एक अंक जोडेको पोखरा निन्जाज २ खेलअघि नै फाइनल होडबाट बाहिरिएका छन् ।
३ अंक जोडेका मधेश युनाइटेड र काठमाडौं स्पाइकर्सको फाइनल खेल्ने गणितीय संभावना बाँकी छ । दुवै टोलीले दुई,दुई खेल खेल्न बाँकी छ । लिग अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली र मधेशबिच दिउँसो २ बजे सुरु हुनेछ । त्यसपछि ललितपुर र पोखराबिचको खेल हुनेछ ।



