पोखरामा हुवावे सुपर ईभी चार्जिङ हब सञ्चालनमा, एकै पटकमा १० वटा गाडी चार्ज गर्न सकिने

-


     पोखरा क्लिक     
     भाद्र २१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, भदौ २१,

पोखरामा अत्याधुनिक प्रविधि सहितको सुपर फास्ट ईभी चार्जिङ स्टेशन संचालनमा आएको छ । पोखरा–सिमलचौर (राष्ट्र बैंक रोड) मा आधा मेगावाट (५०० किलोवाट) लोड क्षमताको सुपर फास्ट हब ईभी चार्जिङ स्टेशन शनिबार देखि सञ्चालनमा आएको हो ।

४०० किलोवाट क्षमताको अत्याधुनिक हबमा एकै पटक १० वटा विद्युतीय सवारीसाधन चार्ज गर्न सक्ने क्षमता रहेको क्लिक इनर्जी (इनर्जी इन्भाइरमेन्ट कस्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि.) का अध्यक्ष महिला उद्यमी इन्दिरा शर्मा भण्डारीले बताउनु भयो । यस स्टेशनमा चौबिसै घण्टा चार्जिङ सुविधा उपलब्ध हुने भएको उहाँले जनाउनु भयो । सवारीसाधनको प्रकार हेरी न्यूनतम ३० मिनेटदेखि बढीमा डेढ घण्टाभित्र पूर्ण चार्ज गर्न सकिने अत्याधुनिक फाष्ट चार्र्जिङ रहेको उहाँले दाबी गर्नुभयो । चार्र्जिङ गर्दा कुनै समस्या आएमा ग्यारेन्टीसहितको सेवा उपलब्ध गरिने र बिमा पनि समेत गरिएको अध्यक्ष भण्डारीले जनाउनु भयो ।

उक्त स्टेशन गाडीचार्ज प्रा.लि.सँगको साझेदारीमा ‘गाडीचार्ज फ्रेन्चाइज मोडल’ अन्तर्गत स्थापना गरिएको हो । हबमा ५ वटा चार्जर राखिएका छन्, जसअन्तर्गत ३ वटा डुअल गन डिस्पेन्सरले २४० किलोवाट क्षमतामा ६ वटा गाडी एकैसाथ चार्ज गर्न सक्छन्। बाँकी २ वटा डुअल गन चार्जरमार्फत ८० किलोवाट क्षमतामा थप ४ वटा सवारी चार्ज गर्न सकिन्छ । यस हबले एकै पटक कुनै पनि गाडीलाई १८० किलोवाटसम्म ऊर्जा आपूर्ति गर्न सक्ने भएको कम्पनीले जनाएको छ । गाडीचार्जले पूर्वमा पथरीदेखि पश्चिममा धनगढीसम्म १०५ भन्दा बढी ईभी चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको छ । देशभर सजिलै चार्जिङ सुविधा उपलब्ध हुने र दिगो गतिशीलता प्रवद्र्धन हुने अपेक्षा गरिएको छ।

उक्त स्टेशनको औपचारिक उद्घाटन गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले बिद्युत उत्पादन र त्यसको खपत बढाउने उद्धेश्यले बिद्युत बिकास विधयक ल्याउन लागेको बताउनु भयो । ईभी चार्जिङ स्टेशनसंगै व्यवसाय प्रबद्र्धन हुने गरी अघि बढ्न उहाँले सुझाव दिनुभयो । गण्डकी प्रदेश सरकारले समेत ईभि चार्जिङ स्टेशनहरुलाई प्रर्बद्धन गर्ने मन्त्री देवकोटाले जनाउनु भयो । मन्त्री देवकोटाले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई दिगो ऊर्जाको साझा प्रतिबद्धता भएको बताउनुभयो ।

त्यस्तै, हुवावे टेक्नोलोजिज नेपालका प्रमुख कार्यकारी अधिकृत जिम, गाडी चार्जकी सह–संस्थापक तथा प्मुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठ, स्टेशनका रामजी प्रसाद भण्डारी, विवेक देवकोटा लगायतले उक्त अभियानले पोखराको इभि क्षेत्रमा उक्त सेन्टर कोषेढुंगा सावित हुने बताउनु भयो । उक्त चार्जिङ स्टेशन स्थापना गर्न करिब २ करोड ४ लाख खर्च भएकोमा ५० प्रतिशत रकम बैकल्पिक उर्जा प्रविधि केन्द्रबाट प्राप्त भएको थियो ।