
पोखरा, भदौ २२,
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गताको सवालमा प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभयो ।
शैक्षिक बिकास, रोजगारीको व्यवस्थापन, सीप विकासका साथै अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धन गर्न जरुरी रहेकोमा बताउनुहुदै एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न उहाँले सुझाव दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा प्रमुख भट्टले जोड दिनुभयो । नेपाल दृष्टिविहिन कल्याण संघका केन्द्रिय अध्यक्ष तीर्थराज वन्तले सामाजिक संघसंस्थामा राजनितिक हस्तक्षेपको विरोध गर्नुभयो । उहाँले गैह्रनाफामुलक संस्थामा स्वार्थको राजनिति हाबी भइरहेको भन्दै तटस्थताको आवश्यकता रहेको रहेको उल्लेख गर्नुभयो । उहाँले २०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकोमा नाम परिवर्तनसँगै २०४२ सालदेखि दृष्टिविहीन कल्याण संघ गैरनाफामुखी संस्थाका रुपमा अघि बढेको उल्लेख गर्नुभयो ।
नेपाल दृष्टिविहिन कल्याण संघ कास्की शाखाका अध्यक्ष टेकमान प्राधानाङ्गले नेत्र परीक्षण, आँखा शल्यक्रिया, वृक्षारोपण, सरसफाई, छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान, ब्रेललिपी तालिम, सदस्यहरुलाई लघुवित्त व्यावसायिक योजना सम्बन्धी क्षमता अभिवृद्धि एवं सीपमूलक तालिमको आयोजना, ब्रेललिपी पाठ्यपुस्तक उत्पादन तथा वितरण, दृष्टिविहीन विद्यार्थीको प्रतिभा प्रस्फुटन, पुरस्कार स्थापना र वितरण लगायतका कार्यक्रमहरु संस्थाले गर्दै आएकोे जानकारी दिनुभयो । सभामा पोखरा उद्योग वाणिज्य संघका महासचिव एवं लाइन्स क्लब अफ लेकसिटीका अध्यक्ष सुदिप प्राधानाङ्गले दृष्टिविहिनहरुको व्यवसायिक प्रवद्र्धनमा प्राविधिक ज्ञान बारे सहकार्य गर्न सकिने बताउनुभयो । मोतीयाविन्दु सम्बन्धी स्वास्थ्य परिक्षणमा सहयोग गर्दै आएको जनाउदै भविष्यमा सामाजिक कार्यहरुलाई बढावा दिने उहाँको भनाई थियो ।
संघका केन्द्रिय महासचिव पवन घिमिरेले संस्थाको प्रगति विवरण संक्षिप्त रुपमा पेश गर्नुभएको थियो । उहाँले दृष्टिविहिनहरुका लागि सीपमुलक कार्यक्रम, शैक्षिक कार्यक्रम, पाठ्यपुस्तक लगायतको वर्तमान अवस्था बारे प्रकाश पार्नुभएको थियो । २०३० को दिगो बिकासका लक्ष्यलाई प्राप्त गर्न अपांगता समावेशी कानुनको निर्माण भए मात्र लक्ष्य पुरा हुने उहाँले बताउनुभयो ।सभामा राष्ट्रिय अपाङ्ग महासंघका प्रवक्ता रमेश पोखरेल, नेपाल नेत्रहिन संघका निर्देश अमृत राई, नेपाल दृष्टिविहिन कल्याण संघका केन्द्रिय उपाध्यक्ष चण्डेश्वरानन्द राज वैद्य, लगायतले दृष्टिविहिनहरुको सशक्त बिकासमा प्रविधिको स्तरलाई जोड दिन आवश्यक रहेको बताउनुभएको थियो ।
पुरस्कार वितरण
उक्त सभामा अपाङ्गताको क्षेत्रमा उल्लेखनिय कार्य गरेबापत उत्कृष्ट शाखा पुरस्कारबाट नेपाल दृष्टिविहिन कल्याण संघ कास्की शाखा पचास हजार नगद राशी सहित पुरस्कृत भएको छ । त्यस्तै केशावती मास्के अपाङ्गता उत्कृष्ट सेवा पुरस्कारबाट नेपाल नेत्रहिन संघका निर्देश अमृत राई पुरस्कृति हुनुभएको छ ।
उहाँलाई तीस हजार नगद राशी सहित प्रमाण– पत्र प्रदान गरिएको थियो । डा। लक्ष्मीनारायण प्रसाद प्रतिभा पुरस्कारबाट विद्यार्थी दिपेश उपाध्यय र सचिना सुवेदीलाई जनही १५ हजार नगदसहित पुरस्कृत गरिएको थियो । रोटरी क्लब अफ काष्ठमाण्डप पुरस्कारबाट हालै एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने १५ जना दृष्टि अपाङ्गता भएका विद्यार्थीलाई जनही दस हजारका दरले पुरस्कृत गरिएको थियो । त्यस्तै नेपाल दृष्टिविहिन कल्याण संघ कास्की शाखाको भवन निर्माणका लागि गा।वि।स का तर्फबाट जग्गा उपलब्ध गराउनुहुने तत्काली सराङकोट गा।वि।सका अध्यक्ष एवं संघका आजिवज सदस्य झपट बहादुर थापालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।



