
पोखरा, २० भदौ,
सोह्र श्राद्धको पुण्यमय अवसर पारेर पोखरामा पितृयज्ञ सुरु भएको छ । यही भाद्र २२ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुने यस यज्ञमा बराह क्षेत्रका पुजारी पण्डित योगेश भण्डारीबाट गरुड पुराणको पाठ, बराह पुराण र भानुभक्त रामायणको प्रवचन गरिने कार्यक्रम रहेको संयोजक विश्व प्रकाश प्रसाईले जानकारी दिनुभयो ।
संयोजक प्रसाईका अनुसार हिन्दूहरूको महान पर्व दशैं तथा नवरात्र महापर्वको अवसरमा असोज ६ गतेदेखि १५ गतेसम्म सहस्रचण्डी महायज्ञ आयोजना हुनेछ । बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म नियमित साधनासहित सञ्चालन हुने यस यज्ञवाट कर्ता मात्र नभई सम्पूर्ण समाजमा जगत्जननी दुर्गा भवानीको असीम कृपा प्राप्त हुने विश्वास आयोजकहरूको छ । त्यसैगरी, पितृयज्ञ र सहस्रचण्डी महायज्ञ सम्पन्न भएपछि अर्को महान पर्व तिहार, दीपावली तथा लक्ष्मीपूजाको पावन अवसरमा धन, ऐश्वर्य र समृद्धि प्राप्तिका लागि श्रीविद्या एवं श्रीमहालक्ष्मी महायज्ञ आयोजना गरिने भएको छ । आउँदो असोज ३१ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने यस अनुष्ठानमा बिहान ९ बजेदेखि १२ बजेसम्म साधना तथा अपरान्ह ४ बजेदेखि ६ बजेसम्म सत्संग हुने व्यवस्था गरिएको छ ।
कार्यक्रम संयोजक प्रसाई, सिद्धमहायोगी आध्यात्मिक प्रतिष्ठान पोखराका अध्यक्ष विष्णु प्रसाद शर्मा तथा नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गुरुकृपा, पितृकृपा, दुर्गाकृपा र महालक्ष्मीजीको दिव्य कृपा एकैसाथ प्राप्त गर्ने यो दुर्लभ अवसरमा सहभागी भई पुण्यलाभ लिन सम्पूर्ण भक्तजनलाई आह्वान गरिएको छ । पत्रकार भेटघाट कार्यक्रममा नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले अध्यक्षता गर्नुभएको थियो भने महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद शर्माले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमको विषय प्रवेश संयोजक विश्व प्रकाश प्रसाईले गर्नुभएको हो । तष्विर च्याटजिपिटि




