
दीननाथ बराल,
पोखरा, २० भदौ,
पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि एभरेस्ट महिला भलिबल लिग सुरु भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज कभर्डहलमा भएको उद्घाटन खेलमा साविक विजेता कर्णाली एसभिज र उपविजेता ललितपुर क्विन्सले विजयी सुरुआत गर्दै ३,३ अंक जोडेका छन् ।
पहिलो खेलमा प्रशिक्षक कुमार राईको नेतृत्वमा रहेको कर्णालीले घरेलु टोली पोखरा निन्जाजलाई सोझो सेटमा हरायो । कर्णालीले पहिलो सेट २५–२१ ले जित्दै लयमा आएको थियो । दोस्रो सेट पनि २५–२० ले आफ्नो पक्षमा पार्दै अग्रता कायम राखेको कर्णालीले अन्तिम सेटमा झनै प्रभावशाली प्रदर्शन गर्दै २५–१४ को फराकिलो अन्तरमा खेल टुंग्यायो । कर्णालीको मार्की खेलाडी सुमित्रा रेग्मीले टिमलाई मजबुत नेतृत्व दिएकी थिइन् भने पोखरा निन्जाज प्रगति नाथको कप्तानीमा खेलेको हो ।
त्यसैगरी, दोस्रो खेलमा साविक उपविजेता ललितपुर क्विन्सले मधेश युनाइटेडलाई सहजै ३–० सेटमा पराजित गर्यो । ललितपुरले पहिलो सेट २५–१७ ले जित्दै दबाब बनाएको थियो भने दोस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो । अन्तिम सेटमा पनि उत्कृष्ट खेल्दै २५–१९ को नतिजासहित ललितपुरले विजयी सुरुआत गर्यो । प्रतियोगितामा ६ टोली सहभागी भएका छन् भने १० देशका १८ जना चर्चित विदेशी खेलाडी समेत खेलिरहेका छन् । उद्घाटन दिनमै दुई खेल सम्पन्न भए पनि दर्शक उपस्थिति भने न्यून देखियो ।
एभरेस्ट महिला भलिबल लिग यही भदौ २८ गतेसम्म सञ्चालन हुने छ । उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतको उपस्थिति रहेको थियो ।



