संगठन विस्तार र उत्पादनमा जोड्न अध्यक्ष प्रचण्डको आग्रह,(भिडियो सहित) बृहत सडक आन्दोलन गर्ने

-


     पोखरा क्लिक     
     भाद्र ५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ५ भदौं,

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले संगठन विस्तार र उत्पादन वृद्धिमा जोड दिनु भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) गण्डकी प्रदेश समितिले पोखरामा विहिबार आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता कार्यकर्ता सहित मजदुरहरुलाई संगठन विस्तार र उत्पादनमा जोड्न आग्रह गर्नु भएको हो ।

माओवादी केन्द्रलाई फेरि एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “गणतन्त्र र समाजवादलाई संस्थागत गर्नका लागि एउटा संकल्प, प्रतिवद्धता र बलिदानबाट आएको हाम्रो उपलब्धि सुरक्षित गर्नैपर्छ । समाजवादी शक्तिलाई एउटै मोर्चामा ल्याउन अब विशेष पहल हुन्छ ।” यसको नेतृत्व माओबादी केन्द्रले नै गर्नु पर्छ उहाँले भन्नुभयो । आगामी योजना सार्वजनिक गर्दै प्रचण्डले दशैं–तिहारपछि बस्ने केन्द्रीय समिति बैठकले संगठन विस्तार र उत्पादन वृद्धिमा केन्द्रित हुने उल्लेख गर्नुभयो । मंसिरपछि सडक आन्दोलन मार्फत दलाल नोकरसाहलाई सडकबाटै परास्थ गर्ने उहाँको भनाइ थियो । माओबादीलाई सक्काउने भित्रभित्र उचालेर पार्टी फुटाउने गुट र उपगुट बनाउनु जस्ता कृयाकलापले दिमाख खराव बनाउने केही व्यक्तिहरु लागेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

गुटबन्दीलाई पार्टीको कमजोर पक्षको रूपमा चित्रित गर्दै उहाँले स्पष्ट चेतावनी दिनुभयो, “अब पार्टीभित्र गुट र उपगुटलाई छुट दिइँदैन । नीति, निर्णय र नियम विपरीत जाने नेतृत्वविरुद्ध कारबाही हुन्छ । आफ्नै खुट्टामा बन्चरो हान्ने बाटोमा कोही पनि लाग्न हुँदैन ।” पोखराको गोल्डेन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जहाँ मजदुर, त्यहाँ अन्टुफ” अभियानलाई टोलदेखि वडा स्तरसम्म फैलाउन नेतृत्व र कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । उहाँले समाजवादी क्रान्तिका नेता भएको नाताले आफ्नो नेतृत्वमा सामाजिक सुरक्षा कोषको थालनी भएको स्मरण गर्दै हाल उक्त कोषमा डेढ खर्ब रुपैयाँ संकलन भइसकेको जानकारी दिनुभयो । “औपचारिक मात्र होइन, अनौपचारिक क्षेत्रका मजदुर र विदेशमा काम गर्ने लाखौं नेपाली युवाहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सके भविष्य सुरक्षित हुन्छ,” उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले मजदुर आन्दोलनलाई न्यूनतम वेतन, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन र ठेकेदारी प्रथा खारेजी जस्ता मुद्दासँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) गण्डकी प्रदेश समितिका अध्यक्ष रुद्र गौतमको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मजदुर नेता तथा कार्यकर्ताको उल्लेखनिय सहभागिता रहेको महासंघका फ्याक्सन इन्चार्ज रामदीप आचार्यले बताउनु भएको छ । तविर राधिका कडेंल