उपाध्यक्ष मात्र होइन अब अध्यक्षमा दाबी गर्न महिला नेतृलाई सञ्चारमन्त्री गुरुङको आग्रह

-


     पोखरा क्लिक     
     भाद्र ५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ५, भदौं,

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाहरुलाई पालिको उपाध्यक्षमा मात्र नभई अब अध्यक्षमै प्रतिष्प्रर्धा गर्न आग्रह गर्नुभयो । अखिल नेपाल महिला सङ्घ गण्डकी प्रदेश कमिटीको बिहीबार सुरु भएको दोस्रो सम्मेलनमा बोल्दै नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका मन्त्री गुरुङले आउने चुनावमा कति वटा वडाध्यक्ष महिला लड्ने, कुन कुन पालिकामा उपाध्यक्ष, उपमेयर होइन, प्रमुख नै माग्ने भन्ने योजना बनाउन महिलाहरुलाई आग्रह गर्नु भएको हो ।

सोहि अनुसारको गृहकार्य आजैबाट सुरु गर्न सुझाव दिदै मन्त्री गुरुङले अहिलेकै आरक्षण र प्रतिनिधित्वमा चूप लागेर बसे जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र अधिकारको एजेन्डा पछि पर्ने बताउनु भयो । योजना सहित नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले पार्टीले देख्ने गरी काम गरी आफ्नो क्षमता देखाएका प्रतिभावान व्यक्तिलाई पार्टीले उचित मुल्याङकन गर्ने जनाउनु भयो । चरामा पनि मयूर बन्न सुझाव दिदै उहाँले युवाको सक्रिय सहभागिताबिना राजनीति अघि बढ्न नसक्ने उल्लेख गर्दै जनसङ्गठनहरुमा युवाको उपस्थिति कम देखिएको गुनासो गर्नुभयो ।

राजनीतिक आन्दोलन सकिएको जनाउँदै अब सशक्तीकरण, समृद्धि र विकासमा केन्द्रीत हुन मन्त्री गुरुङको सुझाव थियो । जनता र नेतृत्वले देख्ने गरी काम गरे पद र प्रतिनिधित्व सजिलै प्राप्त हुने तर्क गर्दै सशक्तीकरण, समृद्धि र विकासमा केन्द्रीत हुन उहाँले आग्रह गर्नु भयो । उहाँले भन्नुभयो “यहाँ हजुरआमा, आमाहरु धेरै हुनुहुन्छ । एमालेभित्र युवाको अभाव देखियो,” । “तपाईहरुका छोरी, भान्जीहरुलाई किन यहाँ ल्याउन सक्नु हुन्न, आकर्षित गर्न सकिएन, यसमा सबैले सोच्नु पर्छ । ” महिलालाई राज्य र सरकारका विभिन्न तहमा अवसर कसैले दिने नभई आफैंले क्षमता विकास गरी त्यसमा दाबा गर्नुपर्नेमा जोड दिदै मन्त्री गुरुङले योजना बनाई, सुशासन र जनसम्बन्धमा पनि पुरुषभन्दा उत्कृष्ट काम गरेर देखाउन सुझाव दिनुभयो । अध्ययन बिना कोही नेता बन्न नसक्ने विचार राख्दै उनले अध्यय गर्ने संस्कृति कमजोर हुदै गएको उहाँले जनाउनु भयो । २०८४ को आमनिर्वाचनमा एमालेलाई सुविधाजनक बहुमत दिलाउने गरी काम गर्न गुरुङले निर्देशन दिनुभयो । बहुमत ल्याउन प्रत्यक्षमा एक सय र समानुपातिकमा ४० प्रतिशत मत ल्याउनु पर्ने उहाँले बताउनु भयो ।

एमाले अहिले पनि चौतर्फी घेराबन्दीमा रहेको दाबी गर्दै उहाँले जनसङ्गठनहरुले त्यसलाई तोड्नुपर्ने जनाउनु भयो । देशका अरु सबै वामपन्थीहरु एमालेको विरुद्धमा रहेको उल्लखे गर्दै गुरुङले कांग्रेससँग सरकारमा गठबन्धन भए पनि अन्त सबैतिर प्रतिस्पर्धा नै भइरहेको दाबी गर्नुभयो । नेकपा एमालेमा अहिले नेतृत्वका लागि वर्तमान अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नदेखिएको उहाँले जनाउनुभयो । कार्यक्रममा नेकपा एमाले जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल, अखिल नेपाल महिला सङ्घ गण्डकी अध्यक्ष हिराकुमारी गिरी लगायतले बोल्नुभएको थियो ।



This will close in 20 seconds