पोखराको पुरानो टुडिखेलमा आयोजना हुने तीज महोत्सवमा ढिकी–चाँतो प्रतियोगिता हुने, विजेतालाई १२ हजार पुरस्कार

-


     पोखरा क्लिक     
     भाद्र ४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ४ भदौ,

नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको पुरानो टुडिखेल मैदानमा यसपालि तेश्रो संस्करणको ऐतिहासिक तीज महोत्सव–२०८२ हुने भएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखराले आयोजना गर्ने उक्त महोत्सव ६ देखि १५ गतेसम्म संचालन हुने भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

महोत्सवमा परम्परागत मौलिकता झल्काउने ढिकी–चाँतो प्रतियोगिता हुने भएको छ । आमा समूह स्तरीय यो प्रतियोगितामा ग्रामीण जीवनशैली र पुराना संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य उक्त प्रतियोगिता समावेस गरिएको केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले बताउनु भयो । त्यसै गरी महोत्सवमा तीज गीत प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, भेषभूषा प्रतियोगिता प्रमुख आकर्षण हुने भएको उहाँले जनाउनु भयो । ढिकी–चाँतो प्रतियोगितामा प्रथम हुनेले १२ हजार ५ सय ५५, द्वितीयले ७ हजार ५ सय ५५ र तृतीयले ५ हजार ५ सय ५५ प्राप्त गर्नेछन्। महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति हुने भएको प्रचार संयोजक रोहितराज पराजुलीले बताउनु भयो । महोत्सवमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार, ज्योति मगर, श्याम राना र नविना शिलुवाल (खुइली) जस्ता चर्चित कलाकारको प्रस्तुती हुने भएको छ । त्यसैगरी, हास्यव्यङ्ग्य कार्यक्रम, बालउद्यान, झाँकी प्रदर्शन, महिला उद्यमीका उत्पादनहरूको प्रदर्शनी, १५० भन्दा बढी व्यवसायिक स्टल पनि महोत्सवमा रहने भएको अध्यक्ष अधिकारीले जनाउनु भयो ।
खुल्ला तिज गित प्रतियोगितामा बिजेतालाई ३५ हजार ५ सय ५५, दोश्रोलाई २० हजार ५ सय ५५, तेश्रोलाई १० हजार ५ सय ५५ रुपैया पुरस्कार प्रदान गरिने भएको उपाध्यक्ष निरज बिक्रम राणाले बताउनु भयो । उक्त महोत्सवलाई बिवाईडीले मुख्य प्रायोजन गरेको छ । महोत्सवबाट संकलित रकम इन्द्रेणीले निर्माण गरेको आवासीय कार्यक्रम भवन र माछापुच्छ्रे दृश्यावलोकन पार्कलाई व्यवस्थित गर्न, टुडिखेल खेलमैदान व्यवस्थापनमा सहयोग गर्न, र सामाजिक सेवा कार्यमा खर्च गरिने अध्यक्ष अधिकारीले बताउनु भयो ।



This will close in 20 seconds