
पोखरा, ४ भदौ,
पर्यटकीय नगरी पोखरामा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा विदेशी पर्यटक सहित १० हजार भन्दा बढी दर्शक सहभागि गराउने लक्ष्य राखिएको टेवानले जनाएको छ ।
महोत्सवमा नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्वका रूपमा मनाइने तीजको परम्परागत गीतहरूलाई खुला चौरमा पुनर्जीवित गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो । गत वर्ष झण्डै ८ हजार दर्शकले अवलोकन गरेको यस महोत्सवमा यस वर्ष गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाको सहभागिता गराउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको व्यापक सहभागिता गराउने भएको उहाँले दाबी गर्नुभयो । महोत्सवमा सांगीतिक तीज गीत प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम हुने भएको महोत्सव संयोजक शान्ता तिमिल्सिनाले जनाउनु भयो ।
गत वर्ष ३० समूहको प्रतिस्पर्धा रहेको तीज गीत प्रतियोगिता यस वर्ष अझै उत्साहपूर्ण हुने अपेक्षा गरिएको छ । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिने भएको छ। टेवान महासचिव शोभा अधिकारी पौडेलले पहिलो दिन विहान १०ः३० बजे हल्लनचोकबाट बाजागाजा सहित भव्य ¥याली निकालिने जानकारी दिनुभयो । पर्यटन व्यवसायीका संघसंस्था, आमा समूह, दिदी बहिनी समूह र विविध सांस्कृतिक समूहको सहभागिता रहने उक्त ¥यालीपछि उद्घाटन समारोह हुनेछ । सोही दिनबाट खुला तीज गीत प्रतियोगिता सुरु हुनेछ । दोस्रो दिन विहान १० बजेबाट खेलकुद प्रतियोगिता सुरु हुनेछ । रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) हुनेछन् ।
यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताउन भयो । उहाँले भन्नुभयो, ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्नेछन् ।’ महोत्सव सम्पन्न गर्न झण्डै १७ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन ठोस योगदान पु¥याउने पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताउदै कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने वचन दिनुभयो । पोखराको सुस्त अर्थतन्त्रलाई चलायमान गराउन यो महोत्सवले प्रत्यक्ष सहयोग पु¥याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । पर्यटन महिला व्यवसायीको क्रियाशीलता र सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुग्ने उहाँले जनाउनु भयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले सांस्कृतिक गौरवलाई पर्यटकीय सम्पदामा रूपान्तरण गर्दै देशको आर्थिक समृद्धिमा अमूल्य योगदान दिन तीज महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले विदेशी पर्यटकलाई तीजको महत्व बुझाउन महोत्सव सफल हुने विश्वास व्यक्त गर्दै सृजनात्मक र महिला उद्यमशिलतालाई समेत तिजले सम्बोधन गर्न सक्नुपर्ने बताउनु भयो ।
महोत्सवको मुख्य प्रवद्र्धकमा पोखरा महानगरपालिकाको कार्यालय र नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवलाई गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद्ले सहयोग गर्ने भएकाछन् ।







