दातृ निकाय फर्किदा ३० हजार बेरोजगार ..

-


     पोखरा क्लिक     
     भाद्र १ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, भदौ १,

नेपालमा २२ वटा दातृ निकाय निष्क्रिय हुँदा करिब ३० हजार जना बेरोजगार हुनु परेको गैरसरकारी संस्था महासंघ (गैसस महासंघ) ले जनाएको छ । कोभिड पछि विश्व अर्थतन्त्रमा परेको असरसंगै नेपाल विकासउन्मुख देशमा जाने तयारी स्वरुप केही दातृ निकायले नेपालमा निष्क्रिय रुपमा रहेकोले त्यसको असर प्रत्यक्ष रुपमा पर्ने हाल करिब ३० हजार जना बेरोजगार हुनु परेको केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले बताउनु भयो ।

यसबाट मात्रै करिब ६५० मिलियन अमेरिकी डलर गुमेको दाबी गर्दै उहाँले उक्त विकल्पमा स्वदेशमा धेरै कार्यक्रमहरु ल्याउनु पर्ने अबस्था सृजना भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भयो । अध्यक्ष भट्टराईले ४ सय क्षेत्रका योजना प्रभावित भएको दाबी गर्दै अध्यक्ष भट्टराईले त्यसको विकल्पको रूपमा सामाजिक उद्यमशीलता र विकास सम्मेलन आवश्यकता भएको जोड दिनुभयो ।

“नेपालको आँखा उपचार क्षेत्रमा मात्रै ९९ प्रतिशत सेवा र उपकरण दातृ निकायमै निर्भर छन्,” अध्यक्ष भट्टराईले भने, “यदि यो अवस्था २०२६ सम्म रह्यो भने लाखौँ नेपाली प्रभावित हुनेछन् । त्यसैले नाफाको एक प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने कानुन बनाएर कार्यान्वयन गर्न जरुरी छ ।”महासंघले अब आन्तरिक सुदृढीकरणलाई प्राथमिकता दिँदै गैरराजनीतिक, समतामूलक र सहयोगी छाता संगठन निर्माण गर्ने घोषणा गरेको छ ।

पारदर्शी र जवाफदेही संस्था निर्माण, सशक्त सचिवालय र डिजिटल उत्कृष्टता, दिगो वित्तीय व्यवहारिकता, नेतृत्वमा समावेशिता र सदस्य संस्थाको वर्गीकरण, वातावरणमैत्री कागजरहित प्रणाली, जिम्मेवार र नैतिक एआई प्रयोग, ऐन ल्याउने सुनौलो अवसर आगामी कार्ययोजना रहेको अध्यक्ष भट्टराईले जनाउनु भयो । नेपालमा हाल १ सय २० वटा दातृ निकाउय अझै सक्रिय रहेको गैसस महासंघले पोखराक्लिकलाई जनाएको छ । कार्यक्रममा महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, उपाध्यक्ष पदमराज पहारी, सचिव शिव शर्मा लगायतले पनि सामाजिक संघ–संस्थाको सुदृढीकरण र भविष्यबारे विचार प्रस्तुत गर्नुभयो ।
.