
दीननाथ बराल,
पोखरा, ३१ साउन,
पोखराको शिशुवामा पहिलो पटक तायाःमचा नृत्य प्रतियोगिता भएसंगै दर्शकको उल्लेखनिय सहभागिता रहेको छ । नेवाः खल कास्कीको आह्वानमा शिशुवा नेवाः खलले आयोजना गरेको प्रतियोगितामा उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा ३४ वटा टिम सहभागी भएका छन् ।

नेवारी सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव पोखराको लेखनाथ, शिशुवा बजारमा पहिलो पटक आयोजना गरिएको शिशुवा नेवाः खलका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक अर्जुनकुमार ताम्राकारले बताउनु भयो । नेवारी समुदायमा परिवारका सदस्यको निधन भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने परम्परा रहिआएको छ। गाईजात्रासँगै प्रस्तुत हुने बाजा र नृत्यलाई ‘तायाःमचा’ भनिन्छ। परम्पराअनुसार गाईजात्राका दिन घर–घरबाट तायाःमचासहितको जुलुस निकालेर बजार परिक्रमा गराइन्छ। रात पर्न थालेपछि सहभागीलाई असुविधा हुने भएकाले गाईजात्रा सम्पन्न भएपछि अर्को शनिबार नृत्य प्रतियोगिता आयोजना गर्ने चलन बसेको हो।
यो प्रतियोगिता विगत २० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको भए पनि यस वर्ष पहिलो पटक कोर पोखराभन्दा बाहिर, लेखनाथ क्षेत्रमा पुगेको हो। यसअघि भैरबटोल, विन्ध्यबासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक र रामबजारमा मात्र सीमित थियो। शिशुवा नेवाः खलका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक अर्जुनकुमार ताम्राकारले लेखनाथमा पहिलोपटक आयोजना भएको यो प्रतियोगिता ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे। प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७७ हजार ७७७ रुपैयाँ, तेस्रो हुनेले ५५ हजार ५५५ रुपैयाँ र सान्त्वना टोलीले २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्। महिलातर्फ विजेताले ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २५ हजार र सान्त्वना टोलीले २० हजार रुपैयाँ पाउने छन्। अघिल्लो वर्षको तुलनामा यस पटक खुला प्रतियोगिताको प्रथम पुरस्कार करिब दुई लाख रुपैयाँले घटाइएको हो। अघिल्लो संस्करणमा पहिलो टोलीले ३ लाख १ रुपैयाँ प्राप्त गरेको थियो। आयोजकले भने, पुरस्कार रकम कम भए पनि यस वर्षको प्रतियोगिता सहभागी संख्या र भव्यताका हिसाबले अहिलेसम्मकै ठूलो हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा विभिन्न जातजाति र भेषभूषाको धनी शहर भएको उल्लेख गर्दै सांस्कृतिक विविधताले नै शहरलाई विशेष बनाउने बताए। उनले तालचोक–बेगनास सडक खण्डमा स्थानीयले अबरोध नगर्न आग्रह गर्दै लामो समयदेखि यथावत रहेको सडकले अब ढिलाइ नगरिकन निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए। कार्यक्रममा पोखरा–३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, पोखरा–९ का अध्यक्ष दिपेन्द्र मर्सानी, रामकाजी गुरुङलगायतको उपस्थिति थियो। अर्को बर्ष भने लामाचौरमा उक्त प्रतियोगिता हुने बताइएको छ ।





