
पोखरा, साउन ३०,
पोखराको बुद्धचोकमा विद्युतीय गाडी ब्रान्ड बीवाईडीको नयाँ सोरुम सञ्चालनमा आएको छ । आज (शुक्रबार) पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त सोरुमको उद्घाटन गरेका हुन्।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सो अवसरमा अत्याधुनिक विद्युतीय एसयूभी ‘सिलायन–७’ पोखरामा पहिलो पटक सार्वजनिक गरेको छ । अब पोखरेली उपभोक्ताले पोखराबाटै सिलायन–७ सहित बीवाईडीका सम्पूर्ण मोडेलका गाडीहरु खरिद गर्न सक्ने बताउदै कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले यहाँ सर्भिस सेन्टरबाट धेरै सुविधा हुने जनाए ।
आधुनिक र फ्यूचरिस्टिक डिजाइनमा तयार सिलायन–७ मा क्लोज्ड अफ ग्रिल, एग्रेसिभ कट र क्रिज लाइनसहितको फ्रन्ट बम्पर, १९ इञ्चको ड्युअल टोन अलोय ह्विल, फ्लस टाइप डोर ह्यान्डल र ब्ल्याक रग्ड क्लेडिङ जस्ता बाहिरी विशेषता रहेका छन्। गाडीमा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस छ, जसलाई पछाडिको सिट फोल्ड गरी विस्तार गर्न सकिन्छ।
इन्टेरियरतर्फ १५।६ इञ्चको रोटेबल टचस्क्रिन, १०।२५ इञ्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, प्यानोरोमिक सनरुफ, हेड–अप डिस्प्ले, हिटिङ र भेन्टिलेसनसहितका सिट, ५० वाट वायरलेस चार्जर, पावर्ड टेलगेट र कनेक्टेड कार टेकजस्ता फिचरहरू रहेका छन्।
सुरक्षाका लागि ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट तथा रियर पार्किङ सेन्सरजस्ता सुविधा दिइएका छन्। बीवाईडी सिलायन–७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको भए पनि अर्ली बर्ड अफरअन्तर्गत हाल ७२ लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको कम्पनीले जनाएको छ।





