पोखरा लामाचौरमा ११ बर्ष देखि निरन्तर हुदै आएको राष्ट्रिय भलिबल प्रतियोगिता यस बर्ष स्थगित, वैकल्पिक रूपमा खुल्ला पुरुष र छात्रा भलिबल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     श्रावण २९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २९ साउन,

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको ऐतिहासिक लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता यस बर्ष स्थगित हुने भएको छ । पोखराको नव आदर्श सामुदायिक विकास समाजले आयोजना गर्ने उक्त प्रतियोगितामा न्यून टिमको सहभागिता हुने र आर्थिक अभावका कारण यस बर्ष उक्त प्रतियोगिता स्थगित हुने भएको समाजले जनाएको छ ।

समाजले विगत ११ बर्षसम्म निरन्तर रुपमा अयाोजना गरेको उक्त प्रतियोगिता यस बर्ष त्यसको विकल्पमा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता आयोजना गर्ने भएको समाजका अध्यक्ष ई.दिनेश भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो “यस वर्ष १२औं संस्करण आयोजना गर्ने गरी तयारीमा जुटे पनि देशको आर्थिक अबस्था कमजोर भएको हुदा यसको प्रभाव अर्थतन्त्रमा समेत परेकोले गर्दा आवश्यक आर्थिक स्रोत जुट्न नसकेपछि कार्यक्रम रद्द गर्न बाध्य भई त्यसको विकल्पमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले बिद्यालय स्तरिय गर्न लागेका हौं । ” भदौं ८ देखि १० गतेसम्म इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा उक्त प्रतियोगिता सहित तिज महोत्सव हुने भएको हो ।

विगतमा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकार लगायतका निकायहरूबाट सहयोग पाउँदै आएको भए पनि यस बर्ष खासै बजेट विनियोजन नभएकोले ई.भण्डारीले गुनासो गरे । प्रतियोगितामा कम्तिमा ६–७ टिमको सहभागिता आवश्यक भए पनि पछिल्ला वर्षहरूमा ३÷४ टिम भन्दा बढी जुट्न नसकेको गुनासो गर्नुभयो ।

त्यसै गरी पुरुष तर्फको राष्ट्रिय भलिवल प्रतियोगितालाई यस बर्ष खुल्ला भलिवल प्रतियोगिताको रुपमा आयोजना गरिने भएको छ । गत बर्षको तुलनामा पुरस्कार राषिमा समेत दोब्बरले बृद्धि गरी विजेतालाई ३ लाख पुरस्कार प्रदान गरिने भएको प्रचार संयोजक बिष्णुप्रसाद गौतमले बताउनु भयो । उपविजेतालाई भने १ लाख ५० हजार प्रदान गरिने भएको छ । गत बर्ष महिला तथा पुरुष तर्फको टिमले जनही १ लाख ५० हजार पुरस्कार प्राप्त गरेका थिए ।

पोखरामा तीजको अवसरमा विशेष आकर्षणका रूपमा हुने महिला राष्ट्रिय भलिबल प्रतियोगिता स्थगित हुँदा खेलप्रेमीहरू निराश हुनु भएको छ । उक्त अवसरमा आयोजना हुने उक्त तिज महोत्सव सहित विभिन्न खेलकुद सहितका अन्य कार्यक्रम सम्पन्न गर्न करिब ४५ लाख खर्च लाग्ने अर्थ समितिका संयोजक कमल बहादुर थापाले बताउनु भयो । समाजले २९ औं वार्षिकोत्सवको अवसर पारेर लामाचौर तीज महोत्सव गर्न लागेको हो ।

महोत्सवमा आयोजना हुने अन्तर बिद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा विजेतालाई ४० हजार उपविजेतालाई २५ हजार रुपैया प्रदान गरिने भएको छ । तिज गित प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार प्रदान गरिने भएको छ ।