पोखरामा शुक्रबार ‘पोखरा डिजाईनर्स फेसन वीक’ हुने

-


     पोखरा क्लिक     
     श्रावण २७ गते २०८२ मा प्रकाशित


पोखरा, २७ साउन,

पोेखरामा आउँदो शुक्रबार ¥याम्प, ग्ल्यामर र सिर्जनशीलताको केन्द्र बन्ने भएको छ । बुटिक एशोसिएसन नेपालको आयोजनामा आगामी शुक्रबारदेखि ‘पोखरा डिजाईनर्स फेसन वीक–२०२५’ सुरु हुँदैछ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले यसबारे जानकारी दिएका हुन्।

एशोसिएसनका अनुसार फेसन वीकमा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त डिजाइनरहरूले आफ्ना नवीनतम कलेक्सन प्रस्तुत गर्नेछन्। कार्यक्रममा विशेष रूपमा स्थानीय कपडा, परम्परागत ढाँचा र आधुनिक फेसन ट्रेन्डको संयोजनमार्फत नयाँ र आकर्षक डिजाइन प्रदर्शन गरिनेछ।

आयोजक बुटिक एशोसिएसन नेपालकी अध्यक्ष सुस्मा थापा पाण्डेले यो कार्यक्रम डिजाइनरहरूको सिर्जनशीलता प्रदर्शन गर्ने मात्र नभई फेसन उद्योगको प्रवद्र्धन, बजार विस्तार र अन्तर्राष्ट्रिय पहिचानमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरिन्। “यो फेसन वीकले डिजाइनरहरूलाई नेटवर्किङ, नयाँ ट्रेन्ड सिक्ने र बजारसम्म पुग्ने अवसर प्रदान गर्नेछ,” उनले भनिन्। कार्यक्रमका शो–टपरमा नेपाली फेसन जगत्का चर्चित नामहरू—करिश्मा मानन्धर, अञ्जना बराइली, सनिशा भट्टराई, राजकुमार सिंह, कृशल श्रेष्ठ, सुवेक्षा खड्का, मिरा कक्षपति र प्रेरणा लामा सहभागी हुने एशोसिएसनकी सचिव कमला गुरुङले जानकारी दिइन्।

बुटिक एशोसिएसन नेपालकी इन्दिरा लामिछानेका अनुसार यो फेसन वीक नेपाली फेसन उद्योगलाई विश्व बजारमा चिनाउन एक महत्वपूर्ण मञ्च बन्नेछ। “हामी नेपाली पहिरनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न प्रतिबद्ध छौं,” उनले भनिन्। २०७४ सालमा स्थापना भएको बुटिक एशोसिएसन नेपाल पहिरन तथा फेसन डिजाइन क्षेत्रमा पेशागत दक्षता, मौलिकता र व्यवसायिक हितको संरक्षणका लागि सक्रिय रहँदै आएको संस्था हो। पोखरा डिजाईनर्स फेसन वीक–२०२५ ले पोखराको कला, संस्कृति र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा चम्काउने अपेक्षा गरिएको छ।