
पोखरा, २५ साउन,
प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता आजको आवश्यकता भएको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी र फोनिज कास्कीले पोखरामा आयोजना गरेको संवाद कार्यक्रममा वोल्दै सदस्य लामिछानेले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता आजको आवश्यकता भएको बताए ।
अब कसरी आदिवासी जनजातिलाई पत्रकारितामा टिकाउने भन्ने सोच्नुपर्ने बेला आएको उनले उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले यदि कुनै समुदायको व्यक्ति पिछडिएको वा विभेद भएको जस्तो लागेमा आवाज उठाउन आग्रह गरे । फोनिज गण्डकी÷कास्कीका सल्लाहकार हुमबहादुर गुरुङले राज्यलाई पूर्ण समावेशी नीति बनाउन र कार्यान्वयनका लागि दबाब सिर्जना गर्न आग्रह गरे ।
महासचिव जमुना वर्षा शर्माले मगर र गुरुङ भाषालाई गण्डकी सरकारले कामकाजी भाषाका रूपमा प्रमाणीकरण गरिसकेको जनाउँदै कार्यान्वयनमा फोनिजको भूमिका निर्णायक हुने बताइन् । फोनिज गण्डकीका अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, फोनिज गण्डकीका सल्लाहकार मनोज घर्ती मगर, फोनिज कास्कीका अध्यक्ष बिनु मर्सानी लगायतले आदिवासी समुदायका पत्रकारहरुको संरक्षणसँगै क्षमता विकासका लागि नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।





