पोखरामा गाईजात्रा पर्वको रौनक, तायाः मचा नृत्य मुख्य आकर्षण (भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण २५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २५ साउन,

जनैपूर्णिमाको भोलिपल्ट, नेवारी समुदायको मौलिक पर्व गाईजात्रा आज पोखरा र आसपासका क्षेत्रहरूमा उत्साहपूर्वक मनाइँदैछ। कास्कीका विभिन्न स्थानमा मृतकको सम्झनामा नेवारी समुदायका आफन्तहरूले परम्पराअनुसार गाईसहित नगर परिक्रमा गरेका छन्।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार करिब दुई सय वर्षदेखि पोखरा र कास्की क्षेत्रमा गाईजात्रा पर्वको परम्परा जोगाइँदै आएको हो। यस वर्ष पनि बिहानैदेखि शहरका चोकचोकमा गाईसँगै तायाः मचा नृत्य प्रदर्शनले माहोल रंगीन बनेको छ। गाईजात्रामा सहभागीहरूले दिवंगत आफन्तको तस्वीर बोकेर वा गाईलाई सजाएर टोलटोल घुम्ने प्रथा छ।

गाईजात्रा नेवारी समुदायमा मात्र नभई नेपाली समाजमै व्यङ्ग्य र मनोरञ्जनको पर्वका रूपमा पनि परिचित छ। यस दिन भजन–कीर्तनसहित विभिन्न सांस्कृतिक प्रस्तुति देखाउने चलन रहँदै आएको छ। यसैबीच, पोखराको गाईजात्रामा मुख्य आकर्षण मानिने तायाः मचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा–३०, शिशुवामा हुने भएको छ। नेवा खल कास्कीको आह्वान तथा नेवाः खलः शिशुवाको आयोजनामा साउन ३१ गते शनिबार हुने उक्त प्रतियोगितामा ३४ टिमको सहभागिता हुने भएको अध्यक्ष पालिखेले पोखराक्लिकलाई बताउनु भयो ।



This will close in 20 seconds