
पोखरा,
पोखरा क्षेत्रमा तागाधारी समुदायले हर्ष उल्लासका साथ जनैपूर्णिमा पर्व मनाएका छन्। श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने ऋषितर्पणी, रक्षा बन्धन तथा जनैपूर्णिमा पर्वको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिर, राममन्दिर, भद्रकालि मन्दिर, सहित अन्य विभिन्न मन्दिर र ओम शान्ति आश्रमका शाखामा विशेष पूजाआजा तथा धार्मिक अनुष्ठान गरिएको छ।
आजको दिन बिहानै स्नान गरी तागाधारीहरूले नयाँ यज्ञोपवित (जनै) धारण गरे भने ब्राह्मण पुरोहितमार्फत वैदिक मन्त्र उच्चारण सहित नाडीमा रक्षा सूत्र (डोरो) बाँध्ने परम्परा निर्वाह गरिएको थियो। यस पर्वलाई श्रावणी स्नान पनि भनिन्छ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित रह, विचलित नहोऊ’ भनी रक्षा विधानको सूत्र तयार गरी डोरो बाँधेर जोगाएका थिए। यही विश्वासका आधारमा रक्षा बन्धन पर्व मनाउने प्रचलन सुरु भएको हो। तष्विर संजय शाक्य \ पोखरा





