कास्कीमा नेपाल प्रेस युनियनको सदस्यता अभियान सुरु

-


     पोखरा क्लिक     
     श्रावण २४ गते २०८२ मा प्रकाशित


पोखरा, २३ साउन,

नेपाल प्रेस युनियन कास्कीले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित नेपाल प्रेस युनियनले साउन १५ देखि सदस्यता अभियान सुरु गरेको थियो ।

सोही कार्यक्रम अन्तर्गत कास्की शाखाले केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थिती यो अभियान सुरु गरेको हो । अभियानमा केन्द्रीय अध्यक्ष लम्सालले कास्कीमा क्रियाशील पत्रकारहरु विमलप्रसाद तिवारी (रुपन्देहीबाट स्थानान्तरण), सागर ढकाल, भानुभक्त पाण्डे, रिदेश सुनार, सुजन पौडेल र विनोद पहारीलाई सदस्यता दिएर अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा अध्यक्ष लम्सालले पत्रकारहरुको आर्थिक, सामाजिक लगायतका पक्षमा सवलीकरण गर्न नेतृत्व गर्ने बताए । प्रेस स्वतन्त्रत र अभिव्यक्ति स्वतन्त्रताको लडाईमा प्रेस युनियन सधै अग्रमोर्चामा रहने उनले दाबी गरे ।

अध्यक्ष लम्सालले प्रेस युनियनले सदस्यहरुलाई अप्ठ्यारो पार्ने गरी शुद्धीकरण अभियानसमेत सञ्चालन नगरेको बताए । ‘सय दिने अभियान पत्रकार महासंघको शुद्धिकरण भनेजस्तै अठ्यारो नपर्ने गरी नेपालका पत्रकारहरुले यो संगठनमा बसेर काम गर्न सक्ने वातावरण बनाउनका निम्ति अभियान सुरु गरेका हौं’, उनले भने, ‘यसमा हामीले ठ्याक्कै शुद्धिकरण किन भनेनौ भने, विगतमा पत्रकार महासंघको शुद्धीकरणले अपठ्यारो पा¥यो, तर हामी त्यो अपठ्यारोहरु नगरीकन हामी कसैले नरोक्ने, कसैले नछेक्ने स्वतः स्फुर्त रुपमा पत्रकारितामा जोडिने साथीहरुसँगै जान यो अभियान सुरु गरेका छौ ।’ सदस्यता अभियानको क्रममा प्रेस युनियन छाड्न चाहने, पत्रकारिता छोडेर पार्टीमा लाग्न चाहने सदस्यहरुलाई व्यवस्थित गर्न यो अभियान सञ्चालन गरिएको अध्यक्ष लम्सालले स्पष्ट पारे ।

सदस्यता अभियानसँगै मंसिर दोस्रो हप्तासम्म विधान सभासमेत गर्ने प्रेस युनियनले तयारी गरेको छ । प्रेस युनियनले अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) का सदस्यताका लागि काम भइरहेकाले छिट्टै प्रेस युनियनमा आवद्ध सदस्यहरुलाई आइएफजेको परिचयपत्र उपलब्ध गराउने उनले बताए । यस कार्यमा सदस्यता अभियानले पनि सघाउने लम्सालले सुनाए । प्रेस युनियन कास्कीका अध्यक्ष बासु मिश्रले सय दिने सदस्यता अभियानलाई कास्कीमा प्रभावकारी र व्यवस्थित बनाएर अघि बढ्ने बताए । यो अभियान गण्डकी प्रदेशमा बागलुङबाट सुरु भएपछि पर्वत र कास्कीमा पनि शुभारम्भ गरिएको हो ।