
दीननाथ बराल,
पोखरा, १९ साउन,
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट वेपत्ता भई पोखरा आएको हायु परिवार एक सातापछि आज आफ्नै गाउँफर्किदै छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले स्वयं उपस्थित भएर टोलीलाई बिदाई गरे ।
२२ सदस्यीय टोलीमा ज्येष्ठ सदस्य उर्मिला हायु र ज्वाई धनबहादुर तामाङ पनि सहभागी भएका छन् । सिन्धुली गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठ पोखरा आएर टोलीलाई केही आश्वासन दिएपछि मात्र टोली घर फर्किन राजी भएसंगै पोखरा महानगरले सवारी साधनको व्यवस्था गर्दै बिदाई गरेको हो।
अध्यक्ष श्रेष्ठले अस्थायी बसोबासका लागि तत्काल व्यवस्थापन गर्ने र सकेसम्म छिट्टै घर निर्माण गरिदिने आश्वासन दिएका थिए । गाउँ नफर्कने अडानमा रहेका हायु परिवारका सदस्य अन्ततः आफ्नो थातथलो फर्किन सहमत भएका हुन् । टोली हाल केही समयका लागि सुङगुरे भन्ने स्थानमा बस्ने भएको वडाध्यक्ष श्रेष्ठले पोखराक्लिकलाई बताए ।एक साताको बसाइँमा टोलीले पोखराको फेवाताल र ताल बराही मन्दिरको दर्शन पनि गरेको थियो। यसअघि वेपत्ता भएको हायु परिवारलाई प्रहरीले गत सातैमा आफन्तको जिम्मा लगाएको थियो।
तनहुँको सुक्लागण्डकीस्थित कोत्रेमा बस्दै आएका तामाङले हायु परिवारकी जेठी छोरी कमला हायूसँग विवाह गरेका थिए । परिवारका सदस्यहरूले गाउँमा काम नपाउने, विद्यालय र खानेपानी टाढा हुने र स्वास्थ्य समस्या हुने कारणले घर छाड्नुपरेको बताए । सिन्धुली गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले हायु परिवारका धेरै सदस्यको विवाह अन्यत्र भएकाले उनीहरू आफ्नो रोजाइले काम खोज्न बाहिरिएको उल्लेख गर्दै गाउँ फर्किए सहयोग गर्ने प्रतिबद्धता जनााए ।




