
दीननाथ बराल,
पोखरा, १८ साउन,
पोखरा क्षेत्रमा अन्तराष्ट्रिय टुरिस्ट गाइड उत्पादन गर्ने उद्धेश्यले आज (आइतबार) देखि ६ दिने टुरिस्ट गाइड तालिम सुरु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा तथा गण्डकी अल्पाइन क्लब र काठमाण्डौं इन्भाइरोलमेण्टल एजुकेशन प्रोजेक्टको प्राविधिक सहयोगमा पोखराको वरपिपल रिसोर्टमा छ दिने टुरिस्ट गाइड प्रशिक्षण सुरु भएको हो ।

पोखरा क्षेत्रमा अन्तराष्ट्रिय स्तरका टुरिष्ट गाइडहरु निकै कम भएकोले उक्त कार्यक्रम आयोजना गरिएको संघ गण्डकीका अध्यक्ष विकास गुरुङले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसारप्रशिक्षणमा ट्रेकिङ गाइडहरूको लागि प्राथमिक उपचार, नक्सा अध्ययन, पैदल यात्रा व्यवस्थापन, माउन्टेन गाइडिङ, टोपोग्राफिक म्यापिङ र हिमाल आरोहणका क्रममा आवश्यक कौशल सम्बन्धी विषय सम्बन्धि जानकारी गराइने भएको छ । तालिममा ७ महिला सहित ३३ जना लाइसेन्स प्राप्त ट्रेकिङ गाइड सहभागी हुनुहुन्छ ।

छ दीन चल्ने उक्त तालिमको आज (आइतबार) उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पदयात्रा क्षेत्रमा आउने पर्यटकलाई थप प्रभावकारी सेवा पु¥याउन उक्त तालिम आयोजना गरिएको बताउनु भयो । “बोर्डको बजेट यसपालि समयमै आएको हुँदा विभिन्न कार्यक्रमहरू सुरुवात गरेका छौँ । दिगो पर्यटन प्रवद्र्धनका लागि यस्ता तालिम निरन्तर सञ्चालन गरिनेछ,” उहाँले बताउनु भयोे । पोखरा जस्तो ठाउँमा टुरिष्ट गाइडहरु निकै कम भएकोले उहाँहरुलाई यही पेशामा टिकाउन के गर्न सकिन्छ बोर्डले सहयोग गर्ने प्रमुख लामिछानेले जनाउनु भयो ।
संस्थापक अध्यक्ष शेषकान्त शर्मा पौडेलले पोखरामा करिब ३ हजार ५ सय गाइड भए पनि अन्तर्राष्ट्रिय स्तरका दक्ष गाइडको अभाव रहेको उल्लेख गर्दै दिगो पेशागत सुरक्षाका लागि दैनिक भत्ता दोब्बरले वृद्धि गर्नुपर्ने माग गर्नु भयो । हाल पोखरा क्षेत्रका गाइडहरुले २ हजार प्राप्त गरे पनि उहाँहरुलाई दिगो रुपमा यही पेशमा राख्न दैनिक भक्ता ४ हजार पुर्याउन उहाँले माग गर्नु भयो ।
संघका सचिव मनशान्त घिमिरेका अनुसार ४ वर्ष भन्दा बढी अनुभव भएका गाइडहरू मात्रै छनोट भएका छन् र दक्ष विज्ञबाट तालिम दिइँदै छ । हाल पोखराका गाइडहरूले प्रतिदिन २ हजारदेखि २५ सयसम्म मात्र पाउने गरेको र दिगो रूपमा टिक्न ४ हजार भत्ता आवश्यक रहेको गाइड विशाल बरालले बताउनु भयो । संघ गण्डकीका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । हिमाली क्षेत्रमा जादा आइ पर्ने जस्तो सुकै समस्याको समाधान गर्न सक्ने गरी प्रशिक्षण गराइने उहाँले उल्लेख गर्नुभयो ।




