पोखराको शिशुवामा पहिलो पटक तायाःमचा नृत्य प्रतियोगिता र गाईजात्रा महोत्सव हुने

-


     पोखरा क्लिक     
     श्रावण १८ गते २०८२ मा प्रकाशित


पोखरा,

नेवारी सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव यही साउन ३१ गते पोखराको लेखनाथ, सिशुवा बजारमा भव्य रूपमा आयोजना हुने भएको छ । नेवाः खल कास्कीको आह्वानमा सिशुवा नेवाः खलले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

नेवारी समुदायमा परिवारका सदस्यको निधन भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने परम्परा रहिआएको छ। गाईजात्रासँगै प्रस्तुत हुने बाजा र नृत्यलाई ‘तायाःमचा’ भनिन्छ। परम्पराअनुसार गाईजात्राका दिन घर–घरबाट तायाःमचा सहितको जुलुस निकालेर बजार परिक्रमा गराइन्छ। रात पर्न थालेपछि सहभागीलाई असुविधा हुने भएकाले गाईजात्रा सम्पन्न भएपछि पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने चलन बसाइएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए।

विगत २० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष पहिलोपटक कोर पोखराभन्दा बाहिर, लेखनाथ क्षेत्रमा हुँदैछ। यसअघि प्रतियोगिता भैरबटोल, विन्ध्यबासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक र रामबजारमा आयोजना गरिएको थियो। ‘लेखनाथले पहिलोपटक प्रतियोगिता आयोजना गर्न पाएको यो सुवर्ण अवसरलाई ऐतिहासिक बनाउन हामी लागिपरेका छौं,’ सिशुवा नेवाः खलका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक अर्जुनकुमार ताम्राकारले भने।

यस वर्ष करिब ३५ टोलीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। तीमध्ये २७ पुरुष टोली र ८ महिला टोली रहनेछन्। प्रतियोगिताले नेवार समुदायका टोल–टोलमा तायाःमचा निस्कने परम्परालाई जीवन्त राख्ने र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा योगदान गर्ने विश्वास आयोजकको छ। प्रतियोगितामा विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीयले ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा एक टोलीले सान्त्वना स्वरूप २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। महिलातर्फको विजेताले ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २५ हजार र सान्त्वना टोलीले २० हजार रुपैयाँ पाउनेछन्।

अघिल्लो वर्षको तुलनामा खुला प्रतियोगिताको प्रथम पुरस्कार करिब दुई लाख रुपैयाँले घटाइएको छ। अघिल्लो संस्करणमा प्रथम टोलीले ३ लाख १ रुपैयाँ पाएको थियो। आयोजकले भने, पुरस्कार राशी घटे पनि यस वर्षको प्रतियोगिता ऐतिहासिक र सहभागी संख्या दृष्टिले सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ।