धर्मराज बर्तौला गण्डकी प्रदेश उद्योग परिसंघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

-


     पोखरा क्लिक     
     श्रावण १८ गते २०८२ मा प्रकाशित


पोखरा,

गण्डकी प्रदेश स्तरीय उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

त्यसै गरी उपाध्यक्षमा दीपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश भारती, अर्पणा पोखरेल, गणेशबहादुर थापा र प्रकाश आचार्य रहेका छन्। अधिवेशनले देशले भोगिरहेको आर्थिक संकट समाधान गर्न स्वदेशी उत्पादन प्रवद्र्धन र औद्योगिक विकास मार्फत रोजगारी सिर्जना गर्ने संकल्प गरेको छ। नवनिर्वाचित अध्यक्ष बर्तौलाले बढ्दो व्यापार घाटा र आयातमुखी अर्थतन्त्रले मुलुकलाई परनिर्भर बनाएको भन्दै यसबाट बाहिर निस्कन सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘अत्यावश्यक वस्तुबाहेक अन्य आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति निर्माणमा हामी सक्रिय हुन्छौं,’ उनले भने, ‘नयाँ उद्योग स्थापना गरी रोजगारीका अवसर सिर्जना गरेर युवाहरूलाई स्वदेशमै भविष्य खोज्न सक्ने वातावरण बनाउनु हाम्रो लक्ष्य हो।’ बर्तौलाले श्रमिकका लागि आकर्षक पारिश्रमिक र सुरक्षित भविष्यको प्रत्याभूति दिलाउँदै गण्डकी प्रदेशलाई औद्योगिक हबको रूपमा विकास गर्न पहल गर्ने योजना प्रस्तुत गरे।

निवर्तमान अध्यक्ष विनोद शर्मा न्यौपानेले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै परिसंघका गतिविधि र भावी योजनाबारे जानकारी गराए। सन् २०२० (२०७७ साल) मा स्थापना भएको परिसंघमा हाल ६५ जना सदस्य आवद्ध छन्। संघले अघिल्ला वर्षहरूमा बजेट सम्बन्धी सुझाव पेश गर्ने, ‘इन्सुर’ परियोजना मार्फत प्राविधिक तालिम सञ्चालन गर्ने र पोखरामा आयोजित औद्योगिक व्यापार मेलामा उद्योगीलाई निःशुल्क स्टल उपलब्ध गराउने जस्ता गतिविधि गर्दै आएको छ।