पोखरा–१३ को तेस्रो ‘गौंडाको मुख क्वाँटी तथा गाईजात्रा उत्सव’ मा दर्शकको अत्याधिक भिड

-


     पोखरा क्लिक     
     श्रावण १७ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा–१३ स्थित बालगोपाल युवा समितिको आयोजनामा तेस्रो ‘गौंडाको मुख क्वाँटी तथा गाईजात्रा उत्सव’ शनिबार निकै उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ। उत्सवमा नेवारी परम्परागत खानपानदेखि सांस्कृतिक झल्को दिने विविध सानंस्कृतिक प्रस्तुतीले दिनभरि नै स्थानीयलाई भरपूर्ण मनोरन्जन दिलाइएको थियो ।

उत्सवमा क्वाँटीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी र स्वाद चखाउने कार्यक्रमले धेरैको ध्यान खिच्यो। साथै, धिमे बाजा, लाखे नाचलगायतका सांस्कृतिक प्रस्तुतीहरूले वातावरणलाई झनै जीवन्त बनाए। आयोजक समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक धिरजप्रसाद ढेवाजुका अनुसार विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस उत्सवले नेवारी संस्कृति जगेर्ना र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

नेवा मिसाः पुच पोखरा–१३ की अध्यक्ष सोनी ढेवाजुले पनि उत्सवले नेवारी भेषभुषा, क्वाँटी र गाईजात्रासँग सम्बन्धित मौलिक परम्परालाई संरक्षण र प्रसार गर्न ठूलो सहयोग पुगेको बताइन्।

विशेषतस् गैर९नेवार समुदायको समेत बाक्लो सहभागितासहित सम्पन्न उत्सवमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगरलगायत विभिन्न समुदायका बालबालिकाले सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए। आयोजकले यसलाई जातीय सद्भाव र सांस्कृतिक एकताको उत्कृष्ट उदाहरणका रूपमा लिएको छ।

गौंडाको मुख क्षेत्र रंगीन ध्वजापताकाले झिलिमिली सजाइएको थियो भने विभिन्न स्टलमार्फत नेवारी संस्कार र संस्कृतिको प्रत्यक्ष अनुभव दिने व्यवस्था गरिएको थियो।

कार्यक्रमको उद्घाटन पोखरा–१३ का वडाध्यक्ष किरण बरालले गरेका थिए। बालगोपाल भजन किर्तन सेवा समितिका अध्यक्ष माधवनारायण श्रेष्ठ, पोखरा–१४ का वडाध्यक्ष बोधराज कार्की, नेवा खल कास्कीका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, नेवा मिसाः पुचकी सचिव मिना श्रेष्ठलगायतका अतिथिहरूले पनि क्वाँटी संस्कृति र गाईजात्राको महत्वबारे आफ्ना विचार व्यक्त गरेका थिए। उक्त उत्सवमा अत्याधिक दर्शक सहभागि भएका कारण एक घण्टासम्म क्वाँटी सहितको खाजा खानेको भिड लागेको थियो । आयोजकले थोरै सङख्यामा सहभागि हुने अपेक्षा गरे पनि बढी दर्शक सहभागि भएको आयोजकले जनाएको छ । लाखे नाचले युवा देखि बालबालिकालाई बिषेश आकर्षण गर्यो ।