
पोखरा, १६ साउन,
पर्यटनको राजधानी पोखरामा फोहोरको सदुपयोग मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयू फेष्ट भव्य रुपमा सुरु भएको छ। भोलिसम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत उत्पादन भएका सामग्रीहरूको प्रदर्शनी र प्रत्यक्ष उत्पादन प्रक्रिया अवलोकन गर्न सकिने बताउनु भयो ।
पोखरा–६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा शनिबारसम्म चल्ने यस फेष्टमा दर्जनभन्दा बढी कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन प्रदर्शनीमा राखेका छन्। फोहोरको रुपमा छाडिएका प्लास्टिक सामग्री, बोतल, कागज, र प्रयोगशून्य कपडाबाट बनेका झोला, व्याग, थैली लगायतका विविध सामग्रीहरूले फेष्टलाई आकर्षक बनाएका छन्। प्रदर्शनी स्थलमा फालिएका बोतलबाट बनाइएको माछासहितका कला संरचनामा सेल्फी खिच्न आउनेको भीड देखिन्छ।
फेष्टमा फोहोरलाई पुनःप्रयोगका लागि कसरी प्रशोधन गरिन्छ भन्ने प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। साथै, फोहोर व्यवस्थापन र जलवायु संकटबारे प्यानल डिस्कसन, सार्वजनिक कला प्रदर्शनी, हरित उद्यमशीलता, प्लास्टिक टु रोड प्रविधि, बजार पहुँच, दिगो जीविकोपार्जनका उपायबारे अन्तरक्रिया कार्यक्रमहरू भइरहेका छन्।
उद्घाटन समारोहमा मेयर आचार्यले भन्नुभयो, “फोहोर अभिशाप होइन, उद्यमी बन्ने अवसर हो भन्ने प्रमाणित गर्न आरयू फेष्टले महत्त्वपूर्ण योगदान दिनेछ। रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना गर्दै चक्रीय अर्थतन्त्र निर्माणमा नयाँ ज्ञान र सीप प्राप्त गर्न यो साझा मञ्च बन्नेछ।”
यस परियोजनामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० को आर्थिक सहयोग र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को प्राविधिक सहयोग रहेको छ। करिब १ अर्ब ४४ करोड लगानीमा जिभिजेड सेन्टरमार्फत फोहोर प्रशोधन गरी विभिन्न सामग्री उत्पादन भइरहेको छ।
महानगरका ३३ वडामा १३६ सामुदायिक समूह मार्फत हालसम्म ३ हजार ३ सयभन्दा बढी व्यक्ति यस परियोजनामा संलग्न भइसकेका छन्। मेयर आचार्यका अनुसार, “सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर रोजगारी दिइएको छ र आगामी दुई वर्षमा ३ हजार स्थायी रोजगारी सिर्जना गर्ने योजना छ।” यस परियोजनाले हरित अर्थतन्त्रको विकासमा योगदान पुर्याउँदै फोहोर व्यवस्थापनलाई अवसरमा बदल्ने नयाँ मोडेल प्रस्तुत गरेको सरोकारवालाले बताएका छन्।





