पोखरा १२ मा प्यागोडा शैलीको कलात्मक प्रवेशद्वार र बगैचा निर्माण

-


     पोखरा क्लिक     
     श्रावण १६ गते २०८२ मा प्रकाशित


पोखरा, १६ साउन,

पोखरा महानगरपालिका वडा नं १२ कार्यालय परिसरमा परम्परागत प्यागोडा शैलीमा निर्मित प्रवेशद्वार र बगैचाको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। पोखराका मेयर धनराज आचार्यले उक्त प्रबेशद्धारको उद्घाटन गर्दै उक्त संरचना नेपालकै मौलिक वास्तुकला शैलीको उत्कृष्ट उदाहरणका रूपमा रहेको दाबी गर्नु भयो ।

कलात्मक प्रवेशद्वारमा काठका सुन्दर मुर्तिकला, झ्याल–ढोका र गजुर सहितको आकर्षक संरचना तयार गरिएको छ। बगैचाभित्र फुलवारी, मन्दिर र फल्चा निर्माण गरी पर्यटक र स्थानीयवासीलाई परम्परागत वातावरणको अनुभूति दिलाउने व्यवस्था गरिएको छ।

उद्घाटन समारोहमा नगरप्रमुख आचार्यले प्राकृतिक पानीको कुवा सहितको माटेपानी निर्माण, ऐतिहासिक रानीपौवाको पुनर्स्थापना तथा महेन्द्रपुलस्थित पुरानो काठेपुल पुनर्निर्माण प्रक्रिया यसै वर्ष प्रारम्भ हुने जानकारी दिनुभयो। वडाध्यक्ष सन्तोष बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समुदाय र सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।