पोखरामा मास विद्युतीय बस सेवा सुरु, हरित यात्राको नयाँ युग

-


     पोखरा क्लिक     
     श्रावण १६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १६ साउन,

पोखराको सार्वजनिक यातायात अब नयाँ अध्यायमा प्रवेश गरेको छ। धुँवा र प्रदूषणबाट मुक्त हरित यात्राको अभियानलाई अघि बढाउँदै पोखरा यातायात प्रालिले बिहीबारदेखि ३२ सिट क्षमताका (मास) अत्याधुनिक टाटा अल्ट्रा ईभी विद्युतीय बस मार्फत सेवा सुरु गरेको हो ।

पोखरा महानगर यातायात व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा नं। १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं। १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यातायात व्यवसायीहरूको उपस्थितिमा बस सेवाको औपचारिक शुभारम्भ गर्नुभयो।

शुभारम्भ कार्यक्रममा वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “विद्युतीय बस सेवा पोखराको सार्वजनिक यातायातको रूपान्तरणको प्रारम्भिक कदम हो। एडीबीसँग सहकार्यमा ६ वटा बस टर्मिनलसहितका इलेक्ट्रिक चार्जिङ स्टेशन बन्नेछन्, जसले यातायातलाई व्यवस्थित र प्रदूषणमुक्त बनाउनेछ।”

त्यसैगरी, वडाध्यक्ष पाण्डेले सेवा १६ र १९ नं। वडाबाट प्रारम्भ गरेकोप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “यातायात क्षेत्रले हजारौंलाई रोजगारी दिएको छ। महानगर र व्यवसायीबीचको सहकार्यले पोखराको यातायातलाई अझ आधुनिक र सहज बनाउनेछ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका महासचिव योगेन्द्र बहादुर केसीले वातावरणमैत्री यातायात विस्तारका लागि निजी क्षेत्र र राज्यबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै भन्नुभयो, “व्यवसायी लगानीका लागि तयार छन्, राज्यले सुरक्षित र अनुकूल वातावरण निर्माण गर्नुपर्छ।”

पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले कम्पनीको २३ वर्षको अनुभव र यात्रुहरूको अपेक्षालाई ध्यानमा राख्दै विद्युतीय बस भित्र्याइएको बताउँदै भन्नुभयो, “महंगो भए पनि समयको माग बुझेर हामीले यो सेवा सुरु गरेका हौं। आगामी दिनमा थप विद्युतीय बस थप्दै जाने योजना छ।”

सिपर्दी ट्रेडिङका गण्डकी–लुम्बिनी इन्चार्ज मोहदत्त भट्टराईका अनुसार टाटा अल्ट्रा ईभी बस नेपालका बाटो र भौगोलिक परिस्थिति अनुरूप उपयुक्त छ। उहाँले भन्नुभयो, “पूर्ण चार्जमा ३०० किलोमिटर चल्ने क्षमता भए पनि पूर्ण लोडमा पनि २२५ किलोमिटर सहजै यात्रा गर्न सक्छ।”

पोखरा यातायात प्रालिका प्रबन्धन र व्यवसायी अशोक गुरुङको संयुक्त लगानीमा १ करोड २५ लाख रुपैयाँ मूल्यको यो बस खरिद गरिएको हो। कम्पनीका अनुसार बसमा २१३ किलोवाट क्षमताको ब्याट्री प्रयोग भएको छ।

यसअघि १५ सिट क्षमतासम्मका पाँच विद्युतीय सवारी सञ्चालनमा ल्याइसकेको पोखरा यातायात प्रालिले अब पहिलोपटक ठूलो क्षमताको बसमार्फत मास सेवा सुरु गरेको हो। यो कदमले पोखराको सार्वजनिक यातायातलाई वातावरणमैत्री, सहज र आधुनिक बनाउँदै हरित यात्राको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ।



This will close in 20 seconds