पोखरामा विवादित कोटीहोमः गैरकानूनी रूख कटान प्रकरणमा सात जना माथि मुद्दा

-


     पोखरा क्लिक     
     श्रावण १५ गते २०८२ मा प्रकाशित


पोखरा, १५ साउन,

पोखरामा विवादित कोटीहोमः गैरकानूनी रूख कटान प्रकरणमा सात जना माथि मुद्दा दायर भएको छ । कास्की जिल्ला अदालतमा बिहीबार मानव सेवा फाउण्डेशन नेपालका प्रबन्धक सहित सात जनाविरुद्ध गैरकानूनी रूख कटानको अभियोगपत्र दायर भएको हो।

पोखरामा आयोजित ‘श्रीगण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ २०८२’ का क्रममा ऐतिहासिक चौतारीका वर, पिपल र समि जस्ता वृक्षहरू काटिएको बिषयमा विवाद भएको थियो । विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति (विजय भण्डारी) को नेतृत्वमा गत वैशाख १७ देखि ६१ दिनसम्म सञ्चालन गरिएको महायज्ञका लागि समिदा संकलनको नाममा पोखरा महानगरपालिका क्षेत्रमा रहेका पुराना वृक्षहरू अनुमति बिना काटिएको थियो। विभिन्न संघसंस्थाले उजुरी गरेपछि डिभिजन वन कार्यालय कास्कीले विस्तृत अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा शुभमार्ग टोल, राधाकृष्ण टोल र साधना मार्गका नौ वृक्षका ७४ वटा हाँगा गैरकानूनी रूपमा काटिएको पुष्टि भएको छ। शुभमार्गमा मात्रै ५५ हाँगा काटिएको र करिब १६ हजार रुपैयाँ बराबरको चार चट्टा दाउरा फाउण्डेशनले प्रयोग गरेको पाइएको छ। राधाकृष्ण टोल र साधना मार्गका हाँगा समेत बिक्री भएको तर खरिदकर्ताको पहिचान अस्पष्ट रहेको वन कार्यालयले जनाएको छ।

१२ साउनमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाएपछि बिहीबार अदालतमा अभियोगपत्र दायर गरिएको हो। मुद्दामा मानव सेवा फाउण्डेशनका प्रबन्धक विष्णु राज गिरी, शुभमार्गका तारा प्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुन बहादुर कार्की र रामकृष्ण अधिकारी, साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेल प्रतिवादी छन्।

वन ऐन २०७६ अनुसार उनीहरूलाई अधिकतम ६ महिना कैद, १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय र करिब ४६ हजार रुपैयाँ विगो असुल गर्ने मागसहित कारबाही अघि बढाइएको छ। महायज्ञका लागि पोखरामा मात्र नभई अन्य स्थानबाट समेत करिब ५० ट्रक काठ ल्याइएको र यसको ठूलो भाग पोखरा महानगरपालिकाले तत्कालै नियन्त्रणमा लिएको थियो। समिदाका नाममा वृक्ष काटिँदा महानगरका नगर प्रहरी, जनप्रतिनिधि र आयोजकबीच झडपसम्म भएको थियो।

डिभिजन वन कार्यालयका सूचना अधिकारी हरि प्रसाद गौतमले पुराना र सार्वजनिक महत्वका वृक्षहरू संरक्षण गर्न सबै सचेत हुनुपर्ने उल्लेख गर्दै भने, “यस्ता घटनाले वातावरणीय सम्पदामाथि गम्भीर असर पार्छ, त्यसैले कानुनअनुसार कडा कारबाही गरिनेछ।”