पोखरामा शुक्रबार दोस्रो मालेपाटन खुल्ला लाखेनाच प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम हुने

-


     पोखरा क्लिक     
     श्रावण १४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १४, साउन,

पोखरा महानगरपालिका वडा नं ५, मालेपाटनको खेलमैदानमा यही साउन १६ गते (शुक्रबार) दोस्रो मालेपाटन खुल्ला लाखेनाच प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा पोखराका २० वटा लाखेनाच समूहले आकर्षक प्रस्तुति गर्ने तयारी भएको कार्यक्रम संयोजक विनय श्रेष्ठले बताउनु भयो ।

मालेपाटन खेलमैदानमा हुने कार्यक्रममा १५ हजार भन्दा बढी दर्शक भेला गराउने अपेक्षा गरिएको उहाँले दाबी गर्नुभयो । तायाः मचा नाच समिति, मालेपाटनको आयोजनामा नेवाः मिसाः पुचः इकाई ५, मालेपाटन ल्यांहः पूँचः र मालेपाटन नेवा गुठी सहआयोजकका रूपमा रहेका छन्। कार्यक्रम केवल नाच प्रदर्शन मात्र नभई मौलिक नेपाली संस्कृति, परम्परा र समुदायको ऐतिहासिक सम्पदाको संरक्षण र प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको संयोजक श्रेष्ठले बताउनु भयो । पोखरालाई सांस्कृतिक आन्दोलनका रूपमा अघि बढाउन यस कार्यक्रम महत्त्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

शताब्दीयौंदेखि प्रचलित लाखेनाचको संरक्षण र प्रवद्र्धन गर्दै मालेपाटनलाई सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको संयोजक श्रेष्ठले बताउनु भयो । युवापुस्तालाई मौलिक कला र परम्परातर्फ आकर्षित गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने अर्का संयोजक बसन्त प्रसाद श्रेष्ठले बताउनु भयो । आजका युवाहरू परम्परा र संस्कृतिबाट टाढिँदै गएका कारण यस कार्यक्रम मार्फत उनीहरूलाई आफ्नै जरा, पहिचान र सामुदायिक चेतनासँग पुनः जोड्ने प्रयास गरिएको उहाँले जनाउनु भयो ।

कार्यक्रममार्फत नेतृत्व विकास, स्थानीय उत्पादनको प्रवद्र्धन र नयाँ कलाकारहरूको उत्प्रेरणासमेत गरिने अपेक्षा गरिएको छ। साथै, कार्यक्रममा नेवारी खानाका स्टल, हस्तकला प्रदर्शनी र परम्परागत पोशाकमा सहभागी हुने अवसर समेत उपलब्ध हुनेछ।