पोखरा रंगशालाको फुटबल स्टेडिएमको फ्लोर प्लेटको प्लाई उड कुहिन थाले पछि ठेक्दार कम्पनीले करिब ७ करोडको लागतमा मेटल प्लेट राख्न सुरु

-


     पोखरा क्लिक     
     श्रावण १३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १३, साउन,

पोखरा रंगशालाको फुटबल स्टेडिएमको भुईमा बिछ्याईएको (फ्लोर प्लेट) प्लाई उड कुहिन थाले पछि ठेक्दार कम्पनीले पुनः मर्मत संहार गर्न थालेको छ । एमए कन्ट्रक्सन जाउलाखेल ललितपुर (जेभी) र भारतीय कम्पनी ग्रेट स्पोर्टसले निमार्ण गरेको स्टेडियमको भुईमा बिछ्याईएको फ्लोर प्लेटको प्लाई उड कुहिदै प्वाल समेत पर्न थालेकोले पुनः मर्मत गर्न लागेको निर्माण कम्पनीले पोखराक्लिकलाई जनाएको छ ।

नेपालकै गौरवको योजना अन्र्तगत पोखरा फुटबल स्टेडिएम निमार्णमा अन्तराष्ट्रि कम्पनी समेत जोडिएकोले त्यसको इज्जत र प्रतिष्ठाको लागि फ्लोर प्लेटको प्लाई उड परिवर्तन गर्न लागेको निमार्ण कम्पनी एमए कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दिपक बरालले बताउनु भयो । उहाँले भन्नुभयो“ पोखरामा बढी पानी पर्ने मौसमले गर्दा घाम पानीले फ्लोर प्लेटको प्लाई उड कुहिन थाल्यो यसले हामीलाई पनि नराम्रो लागि रहेको थियो सबै तर्फबाट यसको मर्मत संहार गर्नुपर्र्यो भन्ने राय सल्लाह अनुसार हामीले मर्मत संहार गर्न जुटेका छौं ।” उहाँका अनुसार प्लाई उडको स्थानमा अब ग्लाल्भेनाइड एम.एस प्लेट (मेटल प्लेट) फेरिने भएको छ ।

यूरोपमा अत्याधिक प्रयोग हुने उक्त प्लाई उड पोखराको हावा पानी र यहाँको वातावरण अनुकुल नहुँदा खुल्ला आकाशमा उक्त प्लाई उड उपयुक्त नहुने कम्पनीले जनाएको छ । ठेक्दार कम्पनीले फान्सबाट उक्त प्लाई उड ल्याईएको थियो । स्टेडिएमको पुरै सिटहरु निकालेर मेटल प्लेट परिवर्तन गर्न करिव ७ करोड खर्च हुने र खर्च निमार्ण कम्पनीले व्योहर्ने उहाँले जनाउनु भयो । करिब २ देखि ३ महिना भित्र उक्त मेटल प्लेट परिवर्तन गरिने भएको प्रोजेक्ट म्यानेजर बरालले जनाउनु भयो । स्टेडियमा राखिएका एक लाख चार सय तीन वर्गफिट प्लाई उड काम नलाग्ने अवस्थामा पुगेको कम्पनीले उल्लेख गरेको छ ।

२६ फागुन ०७५ मा शिलान्यास गरि निमार्णको काम सुरु भएकोमा निमार्ण सम्पन्न गरि २८ असोज ०७९ मा निमार्ण कम्पनीले राष्ट्रिय खेलकुद परिषदलाई स्टेडियम हस्तान्तरण गरेको थियो । १८ हजार पाँच सय सिट क्षमताको प्यारापिट सहितको स्टेडियम एक अर्ब २८ करोड रुपैयामा निमार्ण सम्पन्न भएको हो । ५० वर्षका लागि भनी निमार्ण गरिएको स्टेडियमको फ्लोर प्लेटका प्लाई उडहरु दुई वर्षअघि देखि नै कुहिने समस्या देखिएको थियो । हाल आएर प्रयोग गर्न नमिल्ने अबस्था आएपछि फेर्न ठेक्दार कम्पनीलाई आग्रह गरिएकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पोखराक्लिकलाई बताउनु भयो । फ्लोर प्लेटका प्लाई उडहरु सुरुमा रामै्र थियो तर पछि मक्किन र कुहिन सुरु गरेपछि समस्या आएको उहाँले जनाउनु भयो । केही बर्ष अघि देखि उक्त प्लाई उड फेर्नु पर्छ भनेर भन्दै आएको अबस्थामा हाल ठेक्दार कम्पनीले उक्त फुटबल स्टेडिएमको भुईमा बिछ्याईएको प्लाई उडको सट्टा मेटल प्लेट फेर्न लागेकोले अब भने दिगो हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे । केही भएमा निमार्ण कम्पनीले १२ वर्षसम्म बनाउनुपर्छ भन्ने सम्झौता रहेछ सोही अनुसार कम्पनीले सिट फेर्न सुरु गरेको अध्यक्ष गुरुङले जनाउनु भयो ।

फुटबल स्टेडिएमको भुईमा बिछ्याईएको प्लाई उडमा धेरै समस्या देखिएपछि फान्सको कम्पनीका इन्जिनियरहरु आएर स्थलगत अवलोकन समेत गरेको बताइन्छ । हाल राखिएको मेटल प्लेट भने चितवनस्थित जलप नेपालमा तयार गरिएको हो । स्टेडियममा एक लाख बर्ग फिटका मेटल प्लेट जडान गर्ने भएको कम्पनीले जनाएको छ ।