होटल म्यानेजमेन्ट कलेज र युवा उद्यमी मञ्च बीच सीप आदान–प्रदान गर्न सम्झौता

-


     पोखरा क्लिक     
     श्रावण १३ गते २०८२ मा प्रकाशित


पोखरा, १३ साउन,

पोखरा छिनेडाँडामा रहेको नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज र नेपाली युवा उद्यमी मञ्चबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाले स्रोत र सीपको आदान–प्रदान, आपसी हितमा आधारित कार्यक्रम विकास तथा सञ्चालनमार्फत शैक्षिक र उद्यमशीलता क्षेत्रबीचको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य राखेका छन्।

सम्झौतामा कलेजका प्राचार्य प्रकाश रेग्मी र मञ्चका अध्यक्ष समेज राजभण्डारीले हस्ताक्षर गर्नुभयो। सम्झौतापछि प्राचार्य रेग्मीले भन्नुभयो, “यस सहकार्यबाट शैक्षिक क्षेत्र र उद्यमशीलता क्षेत्रबीचको दूरी घटाउन, व्यवहारिक ज्ञान र व्यवसायिक अवसरलाई जोड्न महत्वपूर्ण योगदान पुग्नेछ।” उहाँका अनुसार विद्यार्थीहरूका लागि इन्टर्नसिप, रोजगारी, उद्योग भ्रमण, कार्यशाला, अतिथि व्याख्यान र ज्ञानमूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्।

त्यसैगरी मञ्चका अध्यक्ष राजभण्डारीले भन्नुभयो, “यो साझेदारीले पर्यटन तथा आतिथ्य सेवा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउनेछ। व्यवहारिक सिकाइलाई प्रोत्साहन गर्दै रोजगार मेलासमेत आयोजना गर्ने योजना छ। हामी नवप्रवर्तन र युवा सशक्तिकरणमा प्रतिबद्ध छौं।”

यस सहमतिले शैक्षिक संस्था र उद्यमशीलतालाई नजिक ल्याउनुका साथै युवालाई उद्यमशील सोच र व्यवहारिक सीपमा सशक्त बनाउने दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। संस्थागत विश्वास, आपसी सम्मान र पारदर्शी सहकार्यका आधारमा अघि बढाइएको यो साझेदारी भविष्यमा प्रेरणादायी अभ्यासको उदाहरण बन्नेमा दुवै पक्ष आशावादी छन्।