पोखरामा भेटिएका हायु परिवारका १९ सदस्यलाई आफन्तको जिम्मा लगाइयो, पोखरामै बस्ने इच्छा व्यक्त

-


     पोखरा क्लिक     
     श्रावण १३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १३ साउन,

सिन्धुलीबाट केही दिनदेखि बेपत्ता भएका हायु परिवारका १९ जना सदस्यलाई कास्की प्रहरीले आफन्तको जिम्मा लगाएको छ। पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी लगायतको रोहबरमा प्रहरीले उनीहरूलाई आफन्त धनबहादुर तामाङ (ज्वाई) को जिम्मा लगाएको हो।

हायु परिवारका १६ जना वेपक्ता भएको खबरले कास्कीमा बुझ्दै जादा उनीहरुलाई भेटिएका कारण जनप्रतिनिधिको रोहबरमा उनका आफन्तलाई बुझाइएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाले पोखराक्लिकलाई बताउनु भयो ।

शनिबार पोखराको हल्लनचोकस्थित जननी होटलमा बसेर आइतबार चेकआउट गरेका उनीहरूलाई प्रहरीले गगनगौंडामा काम खोज्दै हिँडिरहेको अवस्थामा फेला पारेको थियो। ८ महिनाको शिशुदेखि ५२ वर्षीया आमासम्म गरी जम्मा १९ जना रहेको उक्त परिवारका जेठी छोरी कमला हायुका श्रीमान् धनबहादुर तामाङले एकाएक पोखरा आएको थाहा पाएर आश्चर्य प्रकट गरेका छन्।

तामाङका अनुसार, सिन्धुलीमा पटक–पटक बिरामी हुने, रोजगारीको अभाव, टाढा विद्यालयका कारण बालबालिकालाई पढाउन कठिनाई र घण्टौं लाग्ने पानी ल्याउने समस्याले गर्दा परिवारले बस्दै आएको घर छाडेर हिँड्ने निर्णय गरेको रहेछ।

एकै परिवारका धेरै जना हराएको खबर आएपछि सिन्धुली, रामेछाप र कास्की प्रशासनले संयुक्त रूपमा खोजी अभियान चलाएको थियो। अन्ततः उनीहरू गगनगौंडास्थित स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा गएर ज्यामी कामको खोजी गर्दै बसिरहेको अवस्थामा भेटिएका थिए।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले परिवारका धेरै सदस्य विवाह भइसकेका कारण उनीहरू आफ्नै इच्छाले कामको खोजीमा हिँडेको बताएका छन्। गाउँ फर्किने भएमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने आश्वासन पनि उनले दिएका छन्।

प्रहरीले आफन्तको जिम्मा लगाए पछि उनीहरूले पोखरामै रोजगारी खोजेर बस्ने इच्छा व्यक्त गरेका छन्। बिना जानकारी १९ जनाको टोलीलाई कहाँ कसरी व्यबस्थापन गर्ने यही बिषयमा हाल आफु उनीहरुको व्यबस्थापनमा लागेको तामाङले पोखराक्लिकलाई जनाए ।