
पोखरा, १२ साउन,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक साताको चीन भ्रमण सम्पन्न गरी सोमबार पोखरा फर्किनुभएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको मुख्यमन्त्री पाण्डे उपलब्धिमूलक भ्रमणपछि स्वदेश फर्कनुभएको हो।
भ्रमणका क्रममा उहाँले तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव वाङ झुंगजुनसँग भेट गर्नुभएको थियो। भेटमा गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गरी व्यापार र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रस्ताव राख्नुभएको थियो। यससँगै मानसरोवर यात्रालाई सहज बनाउन नाका प्रयोग गर्ने, चीनका विभिन्न सहरबाट काठमाडौं र पोखरासम्म प्रत्यक्ष उडान थप गर्ने, पर्यटन र लगानी प्रवर्द्धनलाई विस्तार गर्ने, दुवै देशका लगानीकर्तालाई आकर्षित गर्न कर छुट दिने र पोखराबाट ल्हासासम्म आउने पर्यटकका लागि भिसा तथा प्रवेश पासको प्रक्रियामा सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो।
चीन सरकारले अघिल्ला वर्षहरूमा गण्डकी प्रदेशमा प्रदान गरेको अनुदान, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका गतिविधिबारे आभार व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले सम्बन्धलाई अझ मजबुत बनाउँदै सहकार्य विस्तार गर्ने अपेक्षा व्यक्त गर्नुभयो। महामहिम वाङ झुंगजुनले गण्डकी प्रदेश सरकारका प्रयासबारे जानकारी रहेको बताउँदै कोरला नाका र अन्य सहकार्यका सम्भावनामा तिब्बत सरकार सकारात्मक रहेको बताउनुभयो। पर्यटन, कृषि, उद्योगलगायतका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने आश्वासन दिनुभयो।
भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले लिन्जी नगर समितिका पार्टी सचिव आओ लिउक्वान र मेयर बातासँग पनि भेट गर्नुभयो। भेटमा पोखरा र लिन्जी शहरबीच पर्यटन, खेलकुद, व्यापारलगायतका क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो। गण्डकी प्रदेशका प्रेस संयोजक नरहरि सापकोटाका अनुसार मुख्यमन्त्रीको भ्रमण उपलब्धिमूलक रह्यो र व्यापार, पर्यटन, लगानी तथा हवाई सम्पर्क विस्तारमा दुवै प्रदेशबीच सहकार्यलाई निरन्तरता दिने समझदारी भएको छ।




