
दीननाथ बराल,
पोखरा साउन १०
पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेसँगै पर्यटन प्रवद्र्धनका गतिविधि तीव्र रुपमा अघि बढाइएको छ । पर्यटन सिजनको सुरुवातसँगै यस बर्ष पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले प्रचार–प्रसार अभियान सञ्चालन गरिने भएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यान्वयन समितिका संयोजक गोपीबहादुर भट्टराईका अनुसार पोखरा र यस क्षेत्रको पर्यटन विकासका लागि अन्तर्राष्ट्रियस्तरमै पुगेर प्रचार गर्ने, पर्यटकलाई निमन्त्रणा गर्ने र विविध कार्यक्रममार्फत पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने योजना अघि सारिएको छ ।
उनका अनुसार २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्षको करिब आधा समय बितिसकेकाले अब बाँकी समयमा आक्रामक र योजनाबद्ध ढंगले कार्यक्रम सञ्चालन गरिनेछ । “हामीले सन् २०२५ लाई पोखराको ‘ब्रान्ड इयर’ को रुपमा लिएका छौँ,” संयोजक भट्टराईले भन्नुभयो, “नीति, बजेट र समन्वयको संयोजनमार्फत अब अभियानलाई प्रभावकारी बनाइन्छ ।”
उहाँका अनुसार कार्यान्वयन समितिको आसन्न बैठकले आगामी रणनीति थप स्पष्ट बनाउँदै मुख्य सिजन लक्षित विशेष कार्यक्रम अघि बढाउने छ ।पर्यटन प्रवद्र्धनमा अघिल्लो वर्ष बजेट अभावका कारण अपेक्षित सफलता नपाइए पनि यस वर्ष बजेटको सुनिश्चितता र योजनाको स्पष्टताले लक्ष्य प्राप्तिको सम्भावना बलियो रहेको उहाँको विश्वास छ ।
पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा पूर्वाधार विस्तार, गुणस्तरीय सेवा, स्थानीय समुदायको सहभागिता र व्यापक प्रचार–प्रसारलाई प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो ।
पर्यटन प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले चालु आर्थिक वर्षमा उत्साहजनक बजेट विनियोजन गरेका छन् । पोखरा महानगरको नेतृत्वमा चाइना प्रमोशन टुर, नेपाल–भारत–चाइना एक्स्पो २०२५ लगायतका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । चाइनाको सिचुवान विमानमार्फत पोखराबाट व्यवसायिक चार्टर्ड उडानसमेत सञ्चालन गरिएको थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशिक कार्यालयका प्रमुख मणिराज लामिछानेका अनुसार यस वर्ष पोखराबाट सुरु भएर गण्डकी प्रदेशभर प्रचारात्मक कार्यक्रमहरू संचालन गरिने तयारी भइरहेको छ । यसैबीच, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले पोखरा सहित प्रदेशका ११ वटै जिल्लालाई लक्षित गर्दै पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि करिब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका सचिव इन्द्र प्रसाद बस्यालले जानकारी दिनुभयो ।
हाल पोखरामा भारतीय, आन्तरिक तथा अन्य विदेशी पर्यटकहरूको आगमन विस्तारै बढ्दै गएको पर्यटन व्यवसायीहरू बताउँछन् । यद्यपि होटल अकुपेन्सी हाल करिब २० प्रतिशतमा सीमित रहेको उनीहरूको भनाइ छ । पर्यटन सिजन अघि बढेसँगै यस्ता पहलहरूले पोखराको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।





