पोखराबाट ७५ लाख ९६ हजार रुपैयाँ नगद सहित ३ जना पक्राउ

-


     पोखरा क्लिक     
     श्रावण ११ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ११, साउन,

विदेशी मुद्राको अवैध कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले करिब ७५ लाख ९६ हजार रुपैयाँ नगद सहित तीन जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ५ बजे प्राप्त सूचनाको आधारमा छापा मार्दा उक्त रकम सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो ।

पोखरा लेकसाइडका दुई वटा मनि एक्सचेन्ज र कास्की तथा रुपन्देहीमा रेष्टुरेण्ट व्यावसाय सचालन गर्दै अवैध रुपमा विदेशी मुद्रा सटही सम्बन्धि कारोवार गरेको आरोपमा हाल ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताउनु भयो ।

पक्राउ पर्नेहरूमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजारका ४५ बर्षीय महमुदिन एम अहमद, झापाको दमक नगरपालिका–४ निवासी तथा हाल पोखरा–६, बैदाम बसोबास गर्दै आउनु भएको राजकुमार बुढाथोकी र पोखरा–१९, पुरनचौरका खेमराज पौडेल रहनु भएको छ । अहमदले कास्की र रुपन्देहीमा रेष्टुरेण्ट व्यवसाय संचालन गर्दै आउनु भएको थियो ।

उहाँहरुको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो तथा ४४ लाख ८ हजार नेपाली रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ। कुल रकमको नेपाली रूपान्तरण मूल्य करिब ७५ लाख ९६ हजार ९ सय रुपैयाँ बराबर रहेको छ।

एसपी ओलियाका अनुसार झापा दमकका ४५ बर्षका राजकुमार बुढाथोकी विगत २० वर्षदेखि र पोखरा १९ का ४३ बर्षीय खेमराज पौडेल १४ वर्षदेखि मनी एक्सचेन्ज कम्पनी सञ्चालन गर्दै अवैध विदेशी मुद्राको सटही कारोबारमा संलग्न रहनु भएको थियो । पोखराको लेकसाइडमा हिलारी मनी एक्सचेन्ज २० बर्ष देखि र विगत १४ बर्ष देखि सगरमाथा मनी एक्सचेन्ज अवैध रुपमा संचालन हुदै आएको प्रहरीको दाबी छ ।

उहाँहरु माथि राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११, दफा ९५ अनुसार, बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिमको कसूरमा ३ जना पक्राउ पर्नु भएको बताइन्छ ।

विदेशी विनिमय कारोवार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा “वा प्रचलित कानून बमोजिम बैंकबाट ईजाजतपत्र लिनु पर्नेमा सो नलिई त्यस्तो कारोवार गरेमा वा परिच्छेद –९ क बमोजिमको फरफारखको प्रक्रियामा बाधा पु¥याएमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ भनेर कानूनमा उल्लेख छ ।