
पोखरा,
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भूटान अन्तर्गतका १५० भन्दा बढी रोटरी क्लबहरूले साउन १० गते ‘रोटरी प्लान्टेशन डे २०२५’ को अवसरमा एकै दिन ५० हजार भन्दा बढी बिरुवा रोपेको दाबी गरेका छन् ।

वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र एकताको अद्वितीय उदाहरण प्रस्तुत गर्दै देशभरि यो वृक्षारोपण अभियान सञ्चालन गरिएको जस अन्र्तगत शनिबार मात्र उक्त सङख्यामा विभिन्न जातका बिरुवा रोपिएको क्लवले दाबी गरेको छ ।
डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालित अभियान अन्तर्गत सहरी पार्कदेखि दुर्गम पहाडी क्षेत्र, विद्यालय, सार्वजनिक स्थल, स्वास्थ्य चौकी र राजमार्ग छेउमा बिरुवाहरू रोपिएको दाबी गरिएको छ ।
गभर्नर कोइरालाले भने, “यो केवल रूख रोप्ने होइन, आशा रोप्ने र समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अभियान हो।” उनले देशभरबाट देखिएको व्यापक सहभागिता र ‘सेवा माथि स्वार्थ’ भन्ने रोटरीको मूल मन्त्रप्रतिको साझा प्रतिबद्धता देखेर गर्व लागेको पनि बताए।वृक्षारोपणसँगै बिरुवाको संरक्षणमा समेत विशेष ध्यान दिइएको डिस्ट्रिक्टले जनाएको छ। धेरै क्लबहरूले स्थानीय निकाय, विद्यालय तथा सामाजिक संस्थासँग समन्वय गरेर स्याहार गर्ने व्यवस्था मिलाएका छन्।
क्लबहरूले विभिन्न समुदायहरूको भ्रमण गर्दै स्थानिय आवश्यकता र चुनौती बुझ्ने अवसर समेत पाएका छन्। यसबाट आगामी सेवाका क्षेत्र पहिचान गर्न र सेवा साझेदारी बलियो बनाउन सहयोग पुगेको रोटरियन राज श्रेष्ठले जनाए । रोटरी इन्टरनेशनलका अध्यक्ष फ्रान्चेस्को अरेज्जोले अघि सारेको यूनाइटेड फर गुड भन्ने थीम अनुरूप, रोटरी प्लान्टेशन डे २०२५ ले हरित, दिगो र सहकार्यमा आधारित समाज निर्माणप्रति रोटरीयनहरूको स्थायी प्रतिबद्धतालाई उजागर गरेको छ।





