
दीननाथ बराल,
पोखरा, ६ साउन,
लामो समयदेखि नविकरण नभएका प्राइभेट फार्म हिजोआज धमाधम नविकरण हुन थालेका छन् । प्राइभेट फार्म संशोधनका क्रममा नविकरण अवधि सकिएका फार्महरुलाई पनि निश्चित जरिवाना र शुल्क तिरेर नविकरण गर्न खुला गरिएकाले हाल नविकरण गर्नेहरुको उत्साह जनक रुपमा सहभागिता रहेको पर्यटन तथा उद्योग कार्यालय कास्कीले पोखराक्लिकलाई बताउनु भयो ।
नविकरण गर्नेहरुको उल्लेखनिय बृद्धि भएसंगै गत बर्ष राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख दिनेश प्रकाश आचार्यले बताउनु भयो । २० लाख रुपैयाँसम्मको पूँजी भएका फार्महरुले प्रति वर्ष २५ सय रुपैयाँ जरिवाना तिर्नुपर्छ भने २० लाख रुपैयाँभन्दा माथिका फार्मका लागि वार्षिक ५ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने छ ।
गत आर्थिक वर्षमा कास्कीमा ५ सय २२ नयाँ औद्योगिक फार्म दर्ता भएका छन् । हाल कास्कीमा १८ हजार २१० औद्योगिक फार्म सक्रिय छन् भने हालसम्म २४ हजार ८ सय फार्म दर्ता भइसकेका छन् । व्यापारिक फार्मको हकमा ९ सय ६० नयाँ दर्ता भएका छन् । हाल २५ हजार ५ सय ३८ व्यापारिक फार्म सक्रिय छन् भने हालसम्म कुल ३१ हजार १ सय ३० फार्मले इजाजत लिएका छन् ।
उद्योग दर्ता गरेपछि धेरै फार्म केही समयमै बन्द हुने प्रवृत्ति बढेकाले खारेज हुनेको सङ्ख्या पनि बढ्दो रहेको प्रमुख आचार्यको भनाइ छ । विशेषगरी वैदेशिक रोजगारीतर्फ युवाको आकर्षणले फार्म बन्द हुने क्रम तीव्र भएको उहाँले जनाउनु भयो ।
यद्यपि, गत वर्षको तुलनामा कार्यालयले उल्लेखनीय राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार, गत वर्ष २ करोड ९१ लाख १६ हजार ७६० रुपैयाँ राजस्व संकलन भयो, जुन अघिल्लो वर्षको १ करोड ९२ लाख ७९ हजार ४० रुपैयाँभन्दा झण्डै ५१ प्रतिशतले बढी हो । कार्यालयले गत आर्थिक वर्षमा ७७.२४ प्रतिशत प्रगति हासिल गरेको पोखराक्लिक समक्ष जनाएको छ।





