गौरीशंकर बहुमुखी क्याम्पसमा लायन्स हेमजाले ट्याङ्की बनाउँदै

-


     पोखरा क्लिक     
     श्रावण ६ गते २०८२ मा प्रकाशित


पोखरा, ६ साउन,

पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण हुन लागेको ट्याङ्कीको पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतीराम तिम्सिनाले शिलान्यास गरे ।

लायन्स क्लब अफ पोखरा हेमजा अध्यक्ष दुर्गाप्रसाद पौडेलले १० हजार लिटर क्षमताको रहने ट्याङ्कीको लागत २ लाख ८० हजारसम्म पर्ने अनुमान रहेको बताए । कुल लागतमध्ये २ लाख लायन्स अन्नपूर्ण मार्फत द रोमसे स्कुल यूकले र नपुग गौरीशंकर क्याम्पसले व्यहोर्ने छन् ।

लायन्स क्लव अफ पोखरा अन्नपूर्र्णका पूर्वअध्यक्ष एवं ट्याङ्की निर्माण कार्यक्रमका निर्देशक सोनाम साङपोका अनुसार २२ वर्षअघि पोखराका विद्यालयका विद्यार्थीको दिसा परीक्षण गर्दा ७० प्रतिशत विद्यार्थीमा पानीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएको थियो । त्यसयता विभिन्न दाता सहयोगमा पानी शुद्ध बनाउन यहाँका विभिन्न विद्यालयमा ३ सय थान यूरोगार्ड वितरण गरिएको उनले स्मरण गरे । वितरित यूरोगार्डले सुरुमा राम्रै काम गरे पनि तत्कालीन अवस्थाको लोडसेडिङको समस्या र आवश्यक मर्मत सम्भार अभावले २÷३ वर्षपछि काम नगरेपछि स्वच्छ पानीको निम्ति स्थायी समाधान गर्न सन् २०१७ देखि खानेपानी ट्याङ्की निर्माण थालिएको हो । ८ वर्षयता ४९ वटा ट्याङ्की निर्माण गरेर सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिसकेको छ । यो परियोजना ५४ औं ट्याङ्की हो ।

लायन्स पोखरा अन्नपूर्ण का निवर्तमान अध्यक्ष गणेश छविले सन् २०२५÷२०२६ मा क्लबले पोखराका विभिन्न विद्यालयहरुमा ८ ट्याङ्की निर्माण गर्ने योजना रहेको बताए । निर्माण हुने प्रतिट्याङ्की बराबर क्लबले २ लाख सहयोग गर्ने र त्योभन्दा बढी लागेको रकम सम्बन्धित क्याम्पसले व्यहोर्ने बताए । निर्माणमा यूकेबाट २३ जना विद्यार्थीहरुको टोली पोखरा आएको छ । टोलीले ट्याङ्की निर्माण लागि ४ दिन गौरीशंकरमा गएर काम गर्ने परियोजना निर्देशक सोनाम साङ्पोले बताए । शिलान्यास कार्यक्रममा गौरी शंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेल, संचालक समितिका अध्यक्ष देवकृष्ण पौडेल, लायन्स इन्टरनेशनल ३२५ एम नेपालका गण्डकी एरिया संयोजक महेश श्रेष्ठ , जोन ९ का जोन चेयरपर्सन तिर्थ श्रेष्ठ, लायन्स क्लव अफ पोखरा सेन्टेनियल का अध्यक्ष लायन्स क्लव अफ पोखरा हेमजाका निर्वतमान अध्यक्ष सन्तमान श्रेष्ठ तथा पदाधिकारी पूर्व अध्यक्ष ,सदस्य लगाएत क्याम्पस संचालक समिति क्याम्पसका प्राध्यापक तथा स्थानिय हरुको उल्लेख्य सहभागिता रहेको थियो ।



This will close in 20 seconds