
पोखरा,
पोखराको लामाचौरमा आयोजना हुने २९ औं तीज महोत्सवको तयारी सुरु गरिएको छ। आयोजक नव आदर्श सामुदायिक विकास समाजले महोत्सवलाई थप व्यवस्थित र भव्य बनाउन २२ वटा उपसमिति गठन गरी तयारी सुरु गरेको हो ।
समाजका अध्यक्ष दिनेश भण्डारीका अनुसार नेपाली नारीको महान् पर्व हरितालिका तीजलाई सांस्कृतिक उत्सवको रुपमा स्थापित गर्ने उद्देश्यले समाजले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ। यो वर्षको संस्करणलाई अझ सशक्त बनाउन विभिन्न उपसमिति गठन गरिएको र ती उपसमितिहरूले आन्तरिक तयारी तीव्र बनाएको समाजले जनाएको छ।
गठन गरिएको समितिमा अर्थ व्यवस्थापनदेखि सुरक्षासम्म, सरसफाइदेखि प्रचारप्रसारसम्मका छुट्टाछुट्टै संयोजक तोकिएको छ। समन्वय विशेष उपसमितिको जिम्मा मिलन केसीलाई दिइएको छ भने स्वास्थ्य तथा आकस्मिक सेवाको संयोजक खुसीमान गुरुङ छन्। यसैगरी, सूचना तथा प्रचारप्रसार उपसमितिको नेतृत्व विष्णु प्रसाद गौतमले लिएका छन्। आईतबार बसेको उक्त उपसमितिको बैठकले प्रचारप्रसारमा कुनै कमी नराख्ने निर्णय गरेको संयोजक गौतमले जानकारी दिए। “सञ्चार माध्यमसँग समन्वय गरी महोत्सवलाई जनस्तरसम्म पुर्याउने तयारीमा छौं,” उनले भने।
तीज महोत्सव अन्तर्गत खुला भलिबल प्रतियोगिता, छात्रा भलिबल, विद्यालयस्तरीय नृत्य, श्रष्ट्रा सम्मान, औद्योगिक मेला, स्टल प्रदर्शनी लगायत कार्यक्रमहरू सञ्चालन हुनेछन्। साथै राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि महोत्सवको आकर्षण हुने समाजले जनाएको छ। तीनदिने तीज महोत्सव भाद्र ८ गतेदेखि १० गतेसम्म चल्नेछ। समाजले यो पर्वलाई उत्सवको रुपमा मनाउँदै समाज, संस्कृति र सिर्जनालाई एकै थलोमा समेट्ने प्रयास गरेको जनाएको छ।







