
पोखरा, ४ कास्की,
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१र८२ को तेस्रो चौमासिक अवधिमा १ करोड ८८ लाख ७ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको छ। हालै सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार गाउँपालिकाले सामाजिक सुरक्षा, पञ्जीकरण र प्राविधिक योजनामार्फत सेवा प्रवाह तथा विकास कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढाएको जनाएको छ।
‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार स् अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नारासहित प्रस्तुत प्रतिवेदनमा ११ वटै वडाका कार्यक्रम र योजनाहरू समेटिएका थिए। प्रतिवेदनमा उल्लेख भएअनुसार प्राविधिक शाखाबाट टेन्डर गरिएको ८ मध्ये ७ योजना सम्पन्न भइसकेका छन् भने एक योजनाको म्याद थप गरिएको छ। वृद्ध नागरिकदेखि दलित बालबालिकासम्म लक्षित सामाजिक सुरक्षा योजनाहरू संचालनमा छन् भने आधारभूत पूर्वाधार विकासमा पनि ध्यान दिइएको बताइएको छ।
कार्यक्रममा स्थानीयले सिमेन्ट थन्किएको, चिकित्सकको अभाव, बजेटको उपयोग, सार्वजनिक जग्गाको सदुपयोग नभएको लगायतका गुनासो र सुझावहरू राखेका थिए। उक्त गुनासोलाई पालिकाले गम्भीरतासाथ लिँदै समाधानका लागि काम अघि बढाइसकेको जनाएको छ।
अध्यक्ष विष्णुबहादुर केसीले स्रोत र कानुनी सीमाभित्र रहेर काम भइरहेको जनाउँदै चाँडै भवन निर्माणको शिलान्यास हुने जानकारी दिए। उपाध्यक्ष चन्द्रकला अधिकारीले महिला, बालबालिका, जेष्ठ नागरिक र गरिब वर्गका लागि नयाँ योजना ल्याउने प्रतिबद्धता जनाइन्। प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने माछापुच्छ्रे माविका व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारीले सामुदायिक विद्यालय सुधारमा सबै पक्षको भूमिकाको आवश्यकता औंल्याए।
कार्यक्रममा पत्रकार सागर ढकालद्वारा प्रस्तुत सेवाग्राही सन्तुष्टि सर्वेक्षणमा अधिकांश स्थानीय सेवाबाट सामान्य सन्तुष्ट रहेको उल्लेख गरिएको थियो। कार्यक्रमको स्वागत वडा अध्यक्ष पिताम्बर भण्डारीले गरेका थिए भने सञ्चालन पत्रकार इन्द्रप्रसाद पौडेलले गरेका थिए।





