
दीननाथ बराल,
पोखरा, १ साउन,
आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो आर्थिक वर्षको तुलनामा गत बर्ष २०८१÷०८२ मा आधा अर्ब रुपैयाँले बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयले ६ अर्ब ८ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल हुँदा उक्त राजश्व अघिल्लो वर्षको तुलनामा ९.१२ प्रतिशत अर्थात ५० करोड ८७ लाख ले बढी रहेको कार्यालयले पोखराक्लिकलाई जनाएको छ ।
गत आर्थिक वर्षको लागि ७ अर्ब १९ करोड १७ लाख ७५ हजार रुपैयाँको लक्ष्य राखिएकोमा ८५ प्रतिशत लक्ष्य पुरा गर्न सफल भएको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो । कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा ५ अर्ब ५७ करोड ५९ लाख ७ हजार रुपैयाँ संकलन गर्न सफल भएको थियो । सहकारी क्षेत्रमा देखिएको समस्या, आर्थिक गतिशीलतामा आएको सुस्तता, युवा शक्ति विदेशीनुे लगायतका कारणले गर्दा राजस्व संकलन लक्ष्य अनुसार संकलन गर्न नसकेको उहाँले जनाउनु भयो । अघिल्लो वर्षको तुलनामा गत बर्ष राजश्व संकलन भने उत्साहजनक रहेको उहाँले बताउनु भयो ।
कार्यालयले आ.व. २०८१÷०८२ मा आयकरतर्फ ३ अर्ब ९९ करोड ४२ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८९ करोड ५९ लाख र अन्तः शुल्कतर्फ १८ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । हाल आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत ६८ हजार व्यवसायिक प्यानधारी करदाता रहनु भएको छ । तीमध्ये १२ हजार ५ सय जना मूल्य अभिवृद्धि कर (मू.अ.कर) मा दर्ता हुनु हुन्छ । व्यक्तिगत प्यानधारीको संख्या २ लाख १० हजार पुगेको कार्यालयले उल्लेख गरेको छ ।
कार्यालय परिसरमै करदाता सहायता कक्ष सञ्चालनमा
करदातालाई कार्यालयको सेवा सरल र प्रभावकारी बनाउन आर्थिक बर्ष २०८२÷०८३ को पहिलो दिनदेखि कार्यालय परिसरमै करदाता सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एक कार्यक्रमका बीच सहायता कक्षको उद्घाटन गर्दै जनतालाई सर्वसुलभ ढंगले कर तिर्ने वातावरण सृजना गर्न आग्रह गर्नु भयो । जीआईजेडको सहयोगमा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ तथा आन्तरिक राजस्व कार्यालयको सहकार्यमा सो कक्ष स्थापना गरिएको हो ।
सहायता कक्षबाट करदाताले कर सम्बन्धी जानकारी, परामर्श र अन्य आवश्यक सहयोग सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो ।
।




