गण्डकी प्रदेश खेलकुद परिषदमा सदस्य मनोनयन, अधिकांश कास्कीका

-


     पोखरा क्लिक     
     असार ३२ गते २०८२ मा प्रकाशित


पोखरा,३२, असार,

तीन महिनादेखि रिक्त रहेको गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य पदमा प्रदेश सरकारले नयाँ मनोनयन गरेको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा परिषदमा नयाँ सदस्य हालै नियुक्त गरिएको हो।

नयाँ सदस्यहरूले सोमबार पोखरामा आयोजित कार्यक्रममार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं परिषद अध्यक्ष विन्दुकुमार थापाको उपस्थितिमा परिषदका सदस्य सचिव श्रीधर शर्माले शपथ गराएका हुन्। प्रदेश खेलकुद विकास ऐन २०७७ र नियमावली २०७८ अनुसार रिक्त पदमा नियुक्ति गरिएको सदस्यसचिव शर्माले जानकारी दिए।

मनोनयन गरिएका मध्ये ९० प्रतिशतभन्दा बढी सदस्य कास्की जिल्लाबाट रहेका छन्। खेल संघहरूको प्रतिनिधित्वमा गण्डकी प्रदेश भलिबल संघबाट भीम पराजुली, गण्डकी प्रदेश फुटबल संघबाट अनिषा तुलाचन र हाप्कीडो प्रदेश संघबाट खिम पुन मगर नियुक्त भएका छन्।

त्यसैगरी अन्य मनोनीत सदस्यहरूमा भेनिश थापा, कृष्णबहादुर थापा, केशमाया गुरुङ, इन्द्राकुमारी मल्ल, रविन्द्रबहादुर प्रजु, संगीता सुवेदी, दिलबहादुर गुरुङ, कञ्चन थापा कोइराला, सीताकुमारी गुरुङ, सागर गुरुङ, विजय कुमार आले मगर र रेखमाया गुरुङ रहेका छन्। यसपटक दोस्रो कार्यकालका लागि नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत रहेका दिलबहादुर गुरुङ पुनः मनोनयनमा परेका छन्।