
पोखरा, ३१, असार
पोखरा–१ मा रहेको इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा तेस्रो ऐतिहासिक तिज महोत्सव हुने भएको छ। आउदो भदौ ६ गतेदेखि १५ गतेसम्म पोखराको पुरानो टुडिखेलमा महोत्सव सञ्चालन हुने भएको केन्द्रले जनाएको छ ।
आज पोखरामा सम्पन्न बैठकले महोत्सवको तयारी र समन्वयका लागि भानुभक्त अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। समितिले महोत्सवको सफल आयोजना तथा व्यवस्थापनका लागि आवश्यक कार्य अगाडि बढाउने भएको छ । संयोजक अधिकारीले महोत्सवलाई भव्य र सफल बनाउन सबै स्थानीय निकाय, सामाजिक संस्था, वडा कार्यालय, महिला समूह, युवा क्लब तथा पोखरावासीको सक्रिय सहयोग अपेक्षित रहेको बताउनु भयो ।
नेपाली परम्परागत तिज संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, संस्कृति र साना व्यवसायलाई प्रोत्साहन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको केन्द्रले जनाएको छ । महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, लोकदोहोरी प्रस्तुति, नृत्य, बाल–कला प्रस्तुति, महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम, र विभिन्न प्रदर्शनीहरू आयोजना गरिने भएको संयोजक अधिकारीले जनाउनु भयो । विस्तृत कार्यक्रम तालिका र उपसमितिहरूको विवरण चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।






