
पोखरा, असार २९,
संसदीय पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। आइतबार पोखरामा सम्पन्न अधिवेशनबाट बिसन क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो।
प्रेस यूनियन र प्रेस चौतारीको गठबन्धनबाट उमेदवार हुनु भएको क्षेत्रीले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रोहितराज पराजुलीलाई ४ मतको अन्तरले पराजित गर्दै दुई वर्षे कार्यकालका लागि नेतृत्व सम्हाल्नु भएको हो। क्षेत्रीले २० मत पाउँदा पराजुलीले १६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। त्यसै गरी प्रेस यूनियन र प्रेस चौतारीको गठबन्धनबाट उपाध्यक्ष पदका उम्मेदवार अनुप पौडेल निर्वाचित हुनुभएको छ। उहाँले स्वतन्त्र उम्मेदवार युवराज श्रेष्ठलाई १० मतको अन्तरले हराउनुभयो। पौडेलले २३ मत प्राप्त गर्दा श्रेष्ठले १३ मतमा सीमित हुनुभयो।
कोषाध्यक्ष पदको प्रतिस्पर्धामा गठबन्धनका उम्मेदवार ऋषिराम बरालले फडिन्द्र अधिकारी (अकिन्चन) लाई २ मतको झिनो अन्तरले पराजित गर्दै जित हात पार्नुभएको छ। बरालले १९ मत पाउँदा प्रेस सेन्टरका उमेदवार अधिकारीले १७ मत प्राप्त गर्नुभएको थियो। सचिवमा युनिश गुरुङ र सहसचिवमा उमा आले निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी कार्यसमितिका सदस्यहरू दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल पनि प्रतिस्पर्धा विना नै चयन हुनुभएको हो।
३६ मतदातामध्ये सबैले मत खसालेर शतप्रतिशत मतदान सुनिश्चित भएको निर्वाचन समितिका संयोजक रमेश पौडेलले जानकारी दिनुभयो। गठबन्धनको तर्फबाट अधिकांश उम्मेदवार विजयी बनेका छन् भने प्रेस सेन्टरबाट एक मात्र सदस्य निर्वाचित हुनुभएको हो।





