
पोखरा,
पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिता हुने भएको छ । आगामी साउनको ६ र ७ गते पोखरामा एमेचर फुटसल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ गाउँ युवा क्लबका अध्यक्ष विकास गुरुङले अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना स्वार्गारोहण भएका साथिहरुको स्मृतिमा प्रतियोगिताको आयोजना गर्न लागेको बताए । उनले फुटबलको आयोजना गर्ने योजना बनाएपनि सुरुवातमा फुटसल गर्न लागिएको सुनाए ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान दुई÷दुई हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।
युवाको प्रतिभा उजागर गर्न र स्थानीय र राष्ट्रिय खेलाडीबिच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता आयोजना गरिएको विकासले बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगीताबाट बचत हुने रकम तनहँुको भानु नगरपालिका ७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ । सो बाल गृहमा हाल विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आस्रित रहेका छन् । अनिल गुरुङ, सजत कार्की र उत्तम गुरुङको स्मृतिमा उनका साथिद्धय अमित र अन्तिमले मुख्य प्रायोजन गरेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकी, लोकतान्त्रिक खेलकुद संघ कास्कीको प्रतियोगितामा सहयोग रहेको छ । उक्त अवसरमा लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष जित गुरुङलाई सम्मान गरिएको थियो ।






