कालोमोसो काण्डको मुख्य योजनाकारको रूपमा सुजन विक पक्राउ

-


     पोखरा क्लिक     
     असार २८ गते २०८२ मा प्रकाशित


पोखरा, असार २८,

छोरेपाटन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीमाथि कालोमोसो दलिएको घटनामा संलग्न भएको आरोपमा नेकपा बहुमत निकट युवा संगठनका केन्द्रीय अध्यक्ष सुजन विक पक्राउ परेका छन्। शुक्रबार सार्वजनिक रूपमा घटेको उक्त घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले तत्काल अनुसन्धान अघि बढाउँदै शुक्रबार राति नै विकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विक नै कालोमोसो दल्ने योजनाका मुख्य सूत्रधार हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले अभद्र व्यवहार मुद्दाअन्तर्गत विकलाई पक्राउ गरिएको पुष्टि गर्दै बाँकी दुई अभियुक्तलाई समेत खोजी भइरहेको जानकारी दिए। “मुख्य योजनाकार विककै संलग्नतामा घटना घटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,” उनले भने।

कालोमोसो दल्ने विद्यार्थीहरू नेकपा बहुमत निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) संग आबद्ध थिए। संगठनले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिँदै अध्यक्ष पहारीको राजीनामा र कारबाहीको माग समेत सार्वजनिक रूपमा राखेको थियो।

कालोमोसो प्रकरणको जड पाताले छाँगो (डेभिज फल्स) को व्यवस्थापन विवाद रहेको हो। २०३५ सालदेखि छोरेपाटन माविले भोगचलन गर्दै आएको यस पर्यटकीय गन्तव्यलाई पोखरा महानगरपालिकाले निजी कम्पनीलाई ४० वर्षका लागि दिने तयारी गरेको थियो।

विद्यालयको तर्फबाट यस कदमको खुलेर विरोध हुँदै आएको छ। हालै विद्यालयले पाताले छाँगोको गेटमै तालाबन्दी गर्दै प्रतिवाद जनायो। स्थानीय तहमा राजनीतिक र सामाजिक रूपमा मुद्दा चुलिँदै गएको बेला विद्यार्थी संगठनको कालोमोसो शैलीको प्रदर्शन देखिएको हो।

महालेखा परीक्षकको कार्यालयले समेत विद्यालयद्वारा उठाइएको रकमलाई बेरुजुका रूपमा औँल्याउँदै महानगरले स्वामित्व लिनुपर्ने सुझाव दिंदै आएको थियो। सोही सन्दर्भमा महानगरले सिसाको पुल निर्माण लगायत योजना सहित निजीकरणको तयारी थालेपछि विवाद झन् चर्किएको हो।

सुजन विक माओवादी केन्द्रबाट सुरु भई मोहन वैद्य, त्यसपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व हुँदै हाल नेकपा बहुमत नामक समूहमा आबद्ध रहेको बताइन्छ । विकमाथि यसअघि पनि विभिन्न विवादास्पद गतिविधिमा संलग्नताको आरोप लाग्दै आएका थिए।

प्रहरीले विकको अघिल्लो मुद्दा समेत अध्ययन गरिरहेको जनाएको छ। कालोमोसो काण्डसँगै पाताले छाँगो व्यवस्थापनको विषयले पोखरामा स्थानीय तह, शिक्षा क्षेत्र र राजनीतिक दलहरूबीच गहिरो बहस निम्त्याएको छ।