
पोखरा २७, असार,
पोखरा सहित कास्कीका विभिन्न वडा देखि पालिकाहरुमा भएको बेरुजु र भ्रष्टचार बिरुद्ध आवाज उठाउन शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् । नेकपा माओवादी (केन्द्र) पोखरा महानगरपालिका–२२, (पुम्दी भुम्दी) समितिले शुक्रबार विश्व शान्ति स्तुपः नजिक इलाइट क्याफेमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्ने वक्ताहरुले जनताले तिरेको करको व्यापक दुरुपयोग भएको जनगुनासो आएकोले वडा देखि पालिकाहरुमा भएको बेरुजु र भ्रष्टचार बिरुद्ध आवाज उठाउन नेता तथा कार्यकर्तालाई सुझाव दिनु भएको हो ।
कार्यक्रममा पार्टीका कास्की जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नेत्रनाथ अधिकारीले राज्यको सम्पत्ति माथि दोहन हँुदा त्यसका बिरुद्ध अब वोल्ने वेला आएको बताउनु भयो । पार्टीभित्र चुनाव प्रक्रियाबाट नेतृत्व चयन गर्दै सैद्धान्तिक स्पष्टता र शुद्धिकरण आवश्यक रहेको बताउँदै, “पार्टी बलियो बनाउन र आगामी चुनाव २०८४ मा परिणाम ल्याउन सबै मिलेर अघि बढ्नुपर्छ,” भन्ने सुझाव दिनुभयो। साथै, भ्रष्ट्राचारविरुद्ध स्पष्ट र प्रभावकारी धारणा लिन पनि उहाँले जोड दिनुभयो।
पार्टीका केन्द्रिय सदस्य राजकाजी गुरुङ (करण)ले पार्टीका कार्यकर्ता र नेतृत्वले समाजको धरातलीय अवस्था, आर्थिक–सामाजिक यथार्थ बुझ्न नसकेको खाडल पुरिनुपर्ने धारणा राख्नुभयो। उहाँले जनजातिका अधिकार, स्थानीय बेरुजुको विरोध र विचारको निरन्तरतामा जोड दिनुभयो। कार्यक्रममा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बरालले अहिलेको मेहनतले २०८४ को निर्वाचनमा पार्टीलाई सफलता दिलाउन सकिने विश्वास व्यक्त गर्नुभयो। महानगर इन्चार्ज तथा केन्द्रीय सदस्य तेजकुमारी पौडेलले पोखरामा पार्टीले उल्लेखनीय नतिजा ल्याउने सम्भावना रहेको उल्लेख गर्दै संगठित प्रयासमा जुट्नुपर्ने बताउनुभयो।
केन्द्रीय सदस्य सोमति गुरुङले पार्टी संगठन वडास्तरसम्म बलियो बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, पार्टीभित्र देखिएका अन्तरविरोध समाधान गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो। केन्द्रिय सदस्य किरण थापा (अमोद) ले पार्टीमा धेरै सम्भावना भएको दाबी गर्दै पार्टी एकता विश्वास हुनु आवश्यक भएकोमा जोड दिनुभयो । वैकल्पिक पोलिटब्युरो सदस्य राजु क्षेत्रीले संगठनका कमी कमजोरी पहिचान गर्दै समाधानका उपायहरू खोज्न सुझाव दिनुभयो। उहाँले पार्टी शुद्धिकरण र नेतृत्वको जवाफदेहितामा जोड दिनुभयो। जिल्ला सचिव विनय थापाले पुम्दी भुम्दी क्षेत्रमा पर्यटन, कृषि र संगठनात्मक सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा सृजनात्मक अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
प्रदेश सचिवालय सदस्य केशव पौडेल, निर्मला सुवेदीले पार्टी अनुशासन र आचारणमा कुनै सम्झौता नगरिनुपर्ने भन्दै सङ्कुचित सोचको अन्त्य गरी क्रान्तिकारी सोचलाई विस्तार गर्नुपर्ने सुझाव दिनुभयो। महानगर अध्यक्ष हरि भण्डारीले संगठनलाई अझ सशक्त बनाउन सडक संरक्षण, नाला सरसफाइ तथा जनसंपर्क अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो । नेकपा माओवादी (केन्द्र) पोखरा महानगरपालिका–२२, (पुम्दी भुम्दी) समितिका अध्यक्ष गणेश बहादुर बरालको अध्यक्षतामा कायक्रम सम्पन्न भएको सचिव हेमराज बरालले बताउनु भयो ।





